परिवार नियोजनमा ८ सय ४३ जनाको गर्भपतन

1.3K

परिवार नियोजनमा ८ सय ४३ जनाको गर्भपतन

बुटवल, १७ फागुन । बुटवलस्थित परिवार नियोजन संघ रुपन्देही शाखाबाट १३ महिनाको अवधीमा ८ सय ४३ जना महिलाले गर्भ पतन गराएका छन् । २०१६ को १२ महिना र २०१७ को १ महिना गरी १३ महिनामा ८ सय ४३ जना महिलाले सुरक्षित गर्भपतन गराएका हुन् ।

२०१६ को १२ महिनामा औजारको प्रयोगबाट २ सय ४८ र औषधीको प्रयोगबाट ५ सय १२ जना महिलाले गर्भपतन गराएको परिवार नियोजन शाखाको तथ्याँकले देखाएको छ । परिवार नियोजन शाखाको तथ्याँक अनुसार २०१७ को एक महिना अथवा गत पुसको १७ देखि माघको १८ गतेसम्म ८३ जना महिलाले गर्भपतन गराएका छन् । जसमा १८ जनाको औजार प्रयोगबाट र ६५ जनाको औषधी प्रयोगबाट सुरक्षित गर्भपतन गराईएको छ ।

प्रचलित कानुनले दिएको अधिकार भित्र रहेर १२ हप्ता भित्रको गर्भपतन गराईएको परिवार नियोजन शाखाले जानकारी गराएको छ । सुरक्षित गर्भपतनका लागि १५ वर्षदेखि ५० वर्ष सम्मका महिलाहरु आउने गरेको बताईएको छ । सुरक्षित गर्भपतनको सेवा लिनेमा धेरैजसो २५ वर्षदेखि ३५ वर्षका  महिलाहरु रहेको परिवार नियोजन संघका सिनियर सुपरपाईजर बालकृष्ण श्रेष्ठले जानकारी गराउनुभयो । परिवार नियोजन संघवाट विशेषज्ञ तथा तालिम प्राप्त चिकित्सकहरुबाट गर्भपतन सेवा प्रदान गर्ने गरिन्छ ।

बुटवलमा रहेको परिवार नियोजन संघ रुपन्देही शाखाले  २०४२ सालदेखि सुरक्षित गर्भपतन सेवा दिंदै आएको छ । सिनियर सुपरपाईजर श्रेष्ठका अनुसार गर्भपतनको सेवा लिन धेरैजसो महिलाहरु श्रीमानलाई पनि साथमा लिएर आउने गरेका छन् । गर्भपतन गराउन आउने महिलाहरु मध्ये धेरैजसोले गर्भ निरोधक अस्थायी साधनहरुको प्रयोग नगर्ने र वढी हेलचेक्राई गरेको पाईएको परिवार नियोजन संघले जनाएको छ ।

प्रचलित कानुनले १२ हप्ताको गर्भपतन गराउने अधिकार महिलालाई दिएकाले महिलाहरु दैनिकजसो गर्भपतनका लागि आउने गरेका छन् । नौ हप्ता सम्मको गर्भ औषधी प्रयोग गरेर १२ हप्ता सम्मको गर्भ औजार प्रयोग गरेर गर्भपतन गराउन पाउने अधिकार महिलाहरुलाई कानुनले दिएको छ । सोही कानुनको परिधि भित्र रहेर परिवार नियोजन संघले गर्भपतनको सेवा उपलब्ध गराउंदै आएको छ ।