
बुटवल, १७ कात्तिक । अहिले बुटवलमा डेंगु रोगले महामारीको रुप लिएको छ । चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म रुपन्देही जिल्लामा ३४३ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुले महामारिको रुप लिएपनि विपद् भने होईन । तर आम मानिस डेंगुको महामारिबाट अत्तालिएका छन् । यस तर्फ जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहले खासै ध्यान नदिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
गत आर्थिक वर्ष २०७३÷०७४ मा रुपन्देही जिल्लामा १५४ जना डेंगुका बिरामी भेटिएका थिए । चालु आर्थिक वर्षको असोज १५ सम्म लुम्बिनी अञ्चल अस्पतालमा २५ जना डेंगुको बिरामी भेटिए । असोजको १६ गते मात्रै लुम्बिनी अञ्चल अस्पतालमै ११ जना डेंगुका बिरामी थपिए । त्यस्तै असोजको १६ पछि एक महिनाको अवधिमा उक्त अस्पतालमा ३१८ जना डेंगुका बिरामी थपिए ।
असोजको तेस्रो हप्तामा रुपन्देहीमा महामारी लिएको डेंगुका कारण महामारी सुरु भएको एक हप्ता भित्रै दुई जनाले ज्यान गुमाए । अहिले पनि लुम्बिनी अञ्चल अस्पतालमा करिव ४० जना डेंगुका बिरामी उपचाररत रहेको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा २०६८ सालमा पनि डेंगुले महामारीको रुप लिएको थियो । त्यसवेला रुपन्देहीमा २९० जना डेंगुका बिरामी अस्पताल आएका थिए । त्यसमध्ये १ जनाको ज्यान गएको थियो । त्यसवेला लुम्बिनी अञ्चल अस्पतालमा पि.आर.पी. (प्रोटिन रिच प्लाज्मा) बनाउनकालागि मेसिन थिएन र अस्पतालमा आएका बिरामीलाई रिफर गर्नुपर्ने थियो ।
त्यसले विपद्को स्थिती सिर्जना भएको थियो भने अहिले लुम्बिनी अञ्चल अस्पतालमै रगतलाई पि.आर.पी. बनाउने मिसिन भएको र रगत पनि तत्काल उपलब्ध भएका कारण विपद् सिर्जना नभएको अस्पतालका सूचना अधिकारी रेग्मी बताउनु हुन्छ । ‘रुपन्देहीमा अहिले डेंगुको प्रकोप छ, मानिस आत्तिएका छन् ।’ उहाँले भन्नुभयो–‘तर विपद् हाईन, यो कुरा जनस्वास्थ्य र स्थानीय तहले बुझाउन सकिरहेका छैनन् ।’
त्यसो त अस्पतालमा आएका बिरामीको बिशेषज्ञ डाक्टरले चेकजाँच गर्ने भएकाले डेंगु भन्ने पत्ता लाग्छ । तर ग्रामिण भेगका बिरामी स्थानीय स्वास्थ्य संस्थामा चेकजाँच गराउने भएकाले पनि त्यस्ता बिरामीलाई डेंगु भएनभएको तत्काल पत्ता लाग्दैन । डेंगु हुँदा ज्वरो आउने, आँखाको नानी दुख्ने, जोनीहरु दुख्ने, वाकवाकी आउने लगायतका लक्षणहरु देखा पर्दछन् ।
टाटेपाटे बाघजस्तो देखिने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट डेंगु हुन्छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले फूल पार्नकालागि मानिसको रगत आवश्यक पर्ने र यसले दिउँसोको उज्यालेमा मात्रै टोक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यो लामखुट्टे सफा पानिमा बस्ने भएकाले शहर बढी प्रभावित हुन्छ ।
अहिले लुम्बिनी अञ्चल अस्पतालमा आएका बिरामी मध्ये ९० प्रतिशत रुपन्देही जिल्लाका भएको र त्यसमा पनि ६५ प्रतिशत बुटवल उपमहानगरपालिकाका भएको सूचना अधिकृत रेग्मले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा पनि तिनाउन नदि आसपासका वडाका बिरामी बढी छन् ।