मैनाबगरमा टोलवासीद्वारा वृहत सरसफाई

1.3K

मैनाबगरमा टोलवासीद्वारा वृहत सरसफाई

बुटवल, २५ कात्तिक । बुटवलको वडा नंं. ११ मैनाबगर क्षेत्रमा स्थानीय टोलवासीले वृहत सरसफाई गरेका छन् । बुटवलमा डेंगुको संक्रमण बढ्दै गएको सन्दर्भमा डेंगु सार्ने लामखुट्टेको प्रमुख बासस्थान थोत्रा टायरहरु भएकाले तिनलाई हटाउने र बढ्दो फोहरलाई रोक्ने उद्देश्यले मैनाबगर टोल विकास संस्थाले पहिलोपटक सरसफाई अभियान थालेको हो ।

टोलवासीले जितगढी मार्ग, मैनाबगर मार्ग, शिवपथ, गोपालपथ लगायतका क्षेत्रमा जम्मा भएका फोहोरलाई संकलन गरी जलाउनुका साथै जलाउन नमिल्ने फोहोर नगरपालिकाको कन्टेनरमा पठाइएको मैनाबगर टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर रानाले जानकारी दिनुभयो ।

सरसफाईमा टोलका ७१ जना महिला–पुरुषको सहभागिता रहेको अध्यक्ष रानाले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकामा भएपनि वडा नंं ११ को मैनाबगर क्षेत्र उपमहानगरपालिकाको नजरमा समेत ओझेलमा परेको र विकासमा पनि धेरै पछाडि परेको अध्यक्ष रानाले गुनासो गर्नुभयो ।

बस तथा ट्रकका बोडी बनाउने ग्यारेज, टायर मर्मत केन्द्र र कवाड जम्मा गर्ने व्यवसायका कारण मैनाबगर क्षेत्र फोहोर र दुर्गन्धित बन्नुका साथै सार्वजनिक सडकलाई नै ग्यारेजको रुपमा प्रयोग गरिंदा सरसफाई गर्न समस्या भएको मैनाबगर टोलवासीको गुनासो छ ।

त्यहां रहेका राम एकबाल बोडी बिल्डर्स, सुरेश बोडी बिल्डर्स, तमु बोडी बिल्डर्स, न्यू राना बोडी बिल्डर्स, न्यू ओम बोडी बिल्डर्स, लुम्बिनी बोडी बिल्डर्स लगायतका गाडी बनाउने र मर्मत गर्नेहरुले आफ्नो ग्यारेज भित्र काम नगरी सार्वजनिक सडकमै गर्ने र गाडीहरु समेत सडकमै पार्किङ गरिदिने गरेको टोलवासीको गुनासो छ ।

मैनाबगर टोल विकास संस्थाले अबदेखि हरेक महिनाको अन्तिम शनिबार टोल सरसफाई कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।