
बुटवल, ३ माघ । स्वास्थ्य संस्थाबाट उत्पन्न हुने सेवाजन्य फोहोर व्यबस्थापनकालागि कार्यायोजना बनाउन बुटवलमा प्राविधिक समिति गठन गरिएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा हालै बुटवलमा सबेको बैठकले नीजि अस्पतालहरुको संस्था अफिन रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेल संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, सिद्धार्थ महिला तथा बाल अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट, नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाका सचिव डा. ईन्द्रप्रसाद ढकाल, लुम्बिनी अञ्चल अस्पताल मेट्रोन, नेपाल औषधी व्यबसायी संघ लुम्बिनी अध्यक्ष, नेपाल मेडिकल ल्यावरोटरी संघ रुपन्देहीका अध्यक्षहरु पदेन सदस्य रहने गरि समिति गठन गरिएको हो ।
वेलावेलामा अस्पतालजन्य फोहार बाहिरै आउने समाचारहरु आईरकेका वेला त्यसको सुधारकालागि सरोकारवालासंग बैठक बसेको हो । उक्त समितिले एक महिना भित्र कार्ययोजना बनाएर प्रतिवेदन पेश गर्ने र सोही आधारमा अस्पतालजन्य फोहोर व्यबस्थापनको काम गरिने बताईएको छ । यद्यपी उक्त समितिको बैठक भने बसेको छैन ।
त्यस्तैगरी उक्त प्राबिधिक समितिलाई आवश्यक सहजिकरण गर्न र स्वास्थ्य संस्थाजन्य फोहोर अनुगमन गर्न उपप्रमुख आचार्यको संयोजकत्वमा अर्को समिति बनाएको छ । स्वास्थ्य सेवा प्रदायकहरुले स्वास्थ्य संस्थाबाट उत्पन्न सेवा जन्य फोहोर अन्य सामान्य फोहोरसंग नमिसाउने र त्यस्तो फोहोरका उचित व्यबस्थापन स्वयम गर्ने निर्णय भएको बताईएको छ ।
स्वास्थ्य संस्थाबाट उत्पन्न हुने सेवाजन्य फोहोर साधारण फोहोरमा मिसाएमा वा जथाभावि फालेमा प्रचलित कानुन अनुसार कारवाही गर्ने निर्णय भएको बताईएको छ । बुटवल उपमहानगर भित्र नीजि तथा सरकारी गरि ११ वटा (पोली क्लिनिक बाहेक) अस्पताल रहेका छन् । अस्पतालबाट सेवाजन्य फोहोर करिव २० प्रतिशत उत्पन्न हुने बताईएको छ ।
अस्पताल जन्य फोहोरलाई कसरी व्यबस्थापन गर्न सकिन्छ, सबैसंग परामर्श लिएर प्रतिवेदन बुझाउने गठित अध्ययन समितिका संयोजक तथा नीजि अस्पतालहरुको संस्था अफिन रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेलले बताउनु भयो ।