
बुटवल, ३ चैत । २० औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको फाईनल प्रतिस्पर्धा आज हुँदैछ । फाईनल प्रतिस्पर्धामा पहिलो सेमिफाईलनमा आयोजक रुपन्देही ११ लाई हराएको विभागीय टिम नेपाल पुलिस क्लव र अन्तिम सेमिफाईनलमा मनाङ मस्र्याङदीलाई हराएको थ्रि स्टार क्लव भिड्दैछन् ।
यस अगाडी ४ पटक तिलोत्तमा गोल्ड कपको उपाधी चुमेको नेपाल पुलिस क्वलसंग फाईनल प्रतिस्पर्धामा उत्रिएको थ्रि स्टारले उपाधीकालागि नयाँ रणनीतिका साथ मैदानमा जाने तयारी गरेको छ ।
सेमिफाईनलमा फितलो प्रदर्शनका बिच आयोजकलाई सिमित बनाएको नेपाल पुलिस क्लवले पनि खेलको रणनीति नबदलेको भने होईन । नयाँ खेलाडी र फर्मेसन बदलिँदा सेमिफाईनलमा फितलो प्रदर्शन भएको स्वीकार गर्दै नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्त थापाले टिमको सुधारसंगै जित्ने रणनीतिका साथ मैदानमा खरो उत्रिने तयारी भएको बताउनु भयो ।
पहिलो सेमिफाईनल खेलमा दुबै टिमको फितलो प्रदर्शनका बिच निर्धारित समयमा गोल सहित बराबरी भएपछि सडेनडेथका आधारमा नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको हो । अन्तिम सेमिफाईनलमा मनाङ मस्र्याङ्दीलाई १ गोलमा समेट्दै दुई गोलका साथ फाईनलको यात्रा तय गरेको थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले अनुभवी खेलाडी र टिम वर्क नै आफ्नो टिमको जितको आधार भएको बताउनु भयो ।
फाईनल प्रतिस्पर्धामा पुगेका दुबै टिम कमजोर भने होईनन् । प्राप्त अवसरहरुलाई जसले सदुपयोग गर्न सक्छ, खेल त्यसैले जित्छ । थ्रि स्टार दुई वर्षदेखि खेलेको थिएन । पछिल्लो दुई महिना यता मात्रै आफ्नै रणनीतिमा खेलको तयारी गरेको र खेलाडीका बिचमा राम्रो समन्वय रहेकाले पनि जितकालागि सहज भएको प्रशिक्षक केसी बताउनु हुन्छ ।
नेपाल पुलिस क्लवका टिम क्याप्टेन रविन श्रेष्ठले खेलाडीको समन्वय र खेलको नयाँ रणनीतिले पुलिसको जितलाई निश्चित बनाएको बताउनु भयो । त्यस्तै थ्रि स्टारका टिम क्याप्टेन निराजन खड्काले अवसरहरुलाई जसले सदुपयोग गर्न सक्छ, जित त्यसैको हुने बताउँदै अवसरहरु गुम्न नदिनेगरी रणनीति बनाएको र जित थ्रि स्टारको पोल्टामा पर्ने विश्वास व्यक्त गर्नुभयो ।
दुबै टिमका टिम क्याप्टेन श्रेष्ठ र खड्काले अन्य स्थानका तुलनामा बुटवलको खेल मैदान खेल र खेलाडीका लागि उपर्युक्त रहेको बताउँदै क्रमिक सुधार गर्दै जानु पर्ने सुझाव दिए ।
फाईलन प्रतिस्पर्धाको पुर्व सन्ध्यामा फिफा टेक्निलक सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रुपन्देही फूटवल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले सबैको साथ र सहयोगले सौहार्दमय वातावरणमा खेल अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले फाईनल प्रतिस्पधा अवलोकनकालागि १० हजार दर्शक आउने अपेक्षा गरिएको बताउनु भयो ।
तत्कालिन बुटवल नगरपालिकाले २०३३ सालमा स्थापना गरेको प्रतियोगितमा विजेतालाई ७ लाख ७७ हजार ७७७ रुपैंया नगद पुरस्कार सहित गोल्ड कप तथा उप विजेतालाई ४ लाख ४४ हजार ४४४ रुपैया नगद पुरस्कार सहित कप मेडल प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप स्कुटी प्रदान गरिने छ भने वेष्ट प्लेयर, वेष्ट स्टाईगर, वेष्ट मिड फिल्डर, वेष्ट कोच र वेष्ट गोल्डकिप्परलाई जनही २२ हजार २२२ रुपैंया नगद पुरस्कार सहित कप प्रदान गरिने छ ।