
बुटवल, ३१ असार । प्रदेश पाँच सरकारले प्रदेश अस्पताल स्थापना गर्नकालागि बजेट विनियोजन गरेपनि सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
महाशाखाले सम्भाव्यता अध्ययनको पहिलो चरणमा प्रदेश पाँचमा रहेका तीन वटा अञ्चल अस्पतालमा प्रारम्भिक छलफल सुरु गरेको हो । प्रदेश पाँचमा तीन वटा अञ्चल अस्पताल छन् । सोही अनुसार महाशाखाले भेरी अञ्चल अस्पताल बाँके, राप्ती अञ्चल अस्पताल दाङ् र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा प्रारम्भिक छलफल गरेको छ । प्रदेश पाँच सरकारले आधुनिक सुविधायुक्त प्रादेशिक अस्पताल निर्माण गर्न २ करोड १० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
आईतबार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रारम्भिक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले लुम्बिनी अञ्चल अस्पताललाई प्रदेश सरकारको मातहतमा नभई संघीय सरकारकै मातहतमा हुनेगरी बिशिष्टिकृत सेवा सहितको सुविधा सम्पन्न अस्पताल बनाउनु पर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य महाशाखाका प्रमुख उमाशंकरप्रसाद चौधरीले अञ्चल अस्पताल कुन तहको सरकारले हेर्ने भन्ने एकिन नभईसकेपनि प्रादेशिक अस्पताल के कसरी कहाँ सुरुवात गर्न सकिन्छ भनेर मात्रै बहस चलाएको बताउनु भयो । त्यस्तै रुपन्देहीका जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउने गरी समन्यायिक ढंगले सञ्चालन गर्नुपर्ने बताउँदै त्यसतर्फ सबैको चासो र चिन्तन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले लुम्बिनी अञ्चल अस्पताललाई संघीय सरकारकै मातहतमा राखेर टिचिङ् अस्पतालको रुपमा बिकास गर्नुपर्ने बताउँदै यस अंगाडी नै सोही अनुसार प्रकृया अंगाडी बढेकाले विषयान्तर नगर्न आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले लुम्बिनी अञ्चल अस्पताललाई प्रदेश अस्पताल बनाउने कुराको सम्भाव्यता हुन नसक्ने बताउँदै प्रदेश अस्पतालकालागि छुट्टै सम्भाव्यता अध्ययन हुनु पर्ने धारणा राख्नुभयो ।
तर लुम्बिनी अञ्चल अस्पताल बुटवलकै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले लुम्बिनी अञ्चल अस्पताललाई प्रदेश अस्पताल बनाउने हो भने व्यापारिक व्यबस्थापन अन्त्य गर्ने र अस्पतालको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिनु पर्ने धारणा राख्नुभयो । अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले लुम्बिनी अञ्चल अस्पतालको प्रमुख समस्या भौतिक पूर्वाधार भएको बताउँदै भौतिक पूर्वाधार अभावकै कारण बिरामीले खोजेको सेवा चाहेर पनि दिन नसकिएको बताउनु भयो ।
उहाँले लुम्बिनी अञ्चल अस्पतालको सेवा प्रवाहका प्रकृयामा सुधार गरि टिचिङ् अस्पतालकै रुपमा बिकास गर्नुपर्ने धारणा राख्दै त्यसकालागि संघीय सरकारकै मातहतमा हुनु पर्ने धारणा राख्नुभयो । बरु टिचिङ अस्पतालको रुपमा बिकास गर्दै जाँदा अन्डर ग्राजुयट मात्रै नभई पोष्ट ग्राजुयट (एमबिबिएस) हुनु पर्ने उहाँको भनाई छ । त्यस्तै लुम्बिनी अञ्चल अस्पतालमा दिईएको सेवाबाट आफूहरु समेत सन्तुष्ट हुन नसकेको बताउँदै अस्पतालका चिफ सर्जन कन्सल्टेन्ट डा. नारदप्रसाद थपलियाले सबैभन्दा पहिला सुविधा सम्पन्न गराई स्तरबृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।
अस्पतालको सेवालाई विशिष्टिकृत गर्दै गएपनि सेवालाई स्तरबृद्धि गर्न नसक्दा अस्पतालबाट जनताले अपेक्षा गरेअनुसारको सेवा पाउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले बताउनु भयो । उहाँले जिल्लामा नीजि अस्पतालको विस्तारसंगै स्वास्थ्यकालागि खर्चहुने सर्वसाधारणको ५० प्रतिशत रकम नीजिमा जानेगरेको बताउँदै प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थामा पनि निगरानी गर्न आग्रह गर्नुभयो ।