नागरिकप्रति बिनम्रता देखाउन सरकारलाई आग्रह

1.3K

नागरिकप्रति बिनम्रता देखाउन सरकारलाई आग्रह

बुटवल, ९ साउन । परराष्ट्रविद डा. दिनेश भट्टराईले प्राध्यापक डा. गोबिन्द केसीले उठाएका माग जनताको माग भएको बताउँदै सरकारलाई हठ त्यागेर नागरिक प्रति बिनम्रता देखाउन आग्रह गर्नुभएको छ । नागरिकका आधारभूत सेवाहरु संविधानले पनि प्रत्याभूत गरिसकेको बताउँदै नागरिकको आधारभूत सेवामा पर्ने स्वास्थ्य सेवालाई नियमन गर्न र सर्वसुलभ बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

रिपोटर्स क्लव प्रदेश पाँच कार्यालयले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले त्यसैकालागि सबैको सहमतिमा २०७२ सालमा केदारभक्त माथेमाको संयोजकत्वमा समिति गठन गरि व्याईएको प्रतिवेदन अध्ययन नगरिकनै कार्यान्वयनमा आनाकानी हुनु राम्रो नभएको भनाई राख्नुभयो । अस्पताल बिना नै मेडिकल कलेज सञ्चालन गर्न पाउनु पर्ने र मेडिकल कलेज सञ्चालनकालागि अस्पताल अनिवार्य हुनु पर्ने कुराका बिचमा मतभेद देखिएको उल्लेख गर्दै उहाँले अस्पताल बिना नै मेडिकल कलेज सञ्चालन गर्ने काम राम्रो नभएको बताउनु भयो ।

अहिले राजनीतिक दलका नेताहरुले सत्ता बाहिर हुँदा एउटा कुरा र सत्तामा गएपछि अर्को कुरा गर्ने प्रबृत्तिले आफ्नो विश्वास गुमाईरहेको उल्लेख गर्दै उहाँले दक्षिण एसियाका देशमा सबैभन्दा बढी नीजि मेडिकल कलेज नेपालमा रहेको र अव तीनलाई व्यबस्थित गर्नुपर्ने सुझाव राख्नुभयो । पूर्व प्रधानमन्त्री सुशिल कोईराला र शेरबहादुर देउवाका सल्लाहकार रहनु भएका डा. भट्टराईले भन्नुभयो–‘जनमत पाएको स्थिर सरकारमा पनि आत्मविश्वास देखिएन ।’

त्यस्तैगरी प्रदेश सांसद विष्णु पन्थीले अहिले पेँचिलो बन्दै गएको समस्याको समाधानकालागि सरकारले रेगुलेसन गर्नुपर्ने बताउनु भयो । त्यस्तै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनालले माथेमा आयोगले स्वतन्त्र रुपमा प्रतिवेदन तयार गरेकाले सोही प्रतिवेदन अनुसार स्वास्थ्य शिक्षा अंगाडी बढ्नुपर्ने माग राख्ने सत्याग्राही डा. केसी भन्दा पनि सरकारले प्रतिवेदनका आधारमा धारणा बनाउनु पर्ने बताउनु भयो ।

पत्रकार महेन्द्र थापाले प्राध्यापक डा. केसी, मानव अधिकारवादी कृष्ण पहाडी, पूर्व प्रधानन्यायधिश सुशिला कार्की सत्याग्रहमा एकाकार हुनुमा सत्ताको कुनै स्वार्थ नरहेकाले उनीहरु माथि राजनीतिक पार्टीका बिल्ला भिराउनु राम्रो नभएको धारणा राख्नुभयो ।