बुटवल, २५ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक व्यबस्था अनुसार मजदुरले हड्ताल गर्न पाउने अधिकार विरुद्ध गरेको सरकारको निर्णयलाई फिर्ता गर्न आग्रह गर्नु भएको छ ।
मजदुरहरुले आफ्ना माग राख्न पाउने संवैधानिक अधिकार कुण्ठित गर्नेगरी प्रतिष्ठानमा हड्ताल गर्न नपाउने निर्णय काँग्रेसलाई स्वीकार्य नभएको बताउँदै त्यसका विरुद्ध हुने मजदुर आन्दोलनमा पार्टीको पूर्ण रुपमा साथ र सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
लोकतन्त्र र संविधानको वर्खिलाप हुनेगरी गरिएको उक्त निर्णय तत्काल सच्याउन उहाँले सरकार संग आग्रह गर्नुभएको हो । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले प्रकाशन गरेको ०७६ सालको वार्षिक क्यालेण्डर आज सोमबार रुपन्देहीको मणिग्राममा बिमोचन गर्दै पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले कर्मचारी समायोजनमा समेत स्वास्थ्य क्षेत्रलाई दोस्रो दर्जामा राखेको भन्दै आपत्ती जनाउनु भयो ।
उहाँले कर्मचारी समायोजन विधेयकमा स्वास्थ्य सेवा रोजेका कर्मचारीलाई सचिव भन्दा माथि जाने बाटो नै बन्द गरेको भन्दै सदनमा कुरा उठाउने र त्यस्तो विधेयकलाई पास हुन नदिने प्रष्ट पार्नु भयो ।