हातपात गर्नेलाई कारवाहीको माग गर्दै आम्दाका स्वास्थ्यकर्मी आन्दोलित

1.1K

हातपात गर्नेलाई कारवाहीको माग गर्दै आम्दाका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल, २७ चैत । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिक बाहेका सेवा बन्द गरिदिएका छन् । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले आफन्तसंग गरेको सहमतिमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ काम गर्ने स्वास्थ्य कर्मीहरुले बुधबार दिउँसो १ बजेदेखि आम्दा अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिदिएका हुन् ।

बुटवल सुख्खानगरका नारायण दर्लामीले १० महिने बालक (ओम दर्लामी)को उपचारकालागि सोमबार साँझ सवा ७ बजे आम्दामा भर्ना गराउनु भएको थियो । उपचारका क्रममा एक घण्टापछि ८ः२० मा उनको मृत्यु भएको थियो । स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरे । उनीहरुको आन्दोलनपछि अस्पताल प्रशासन र आफन्त बिचको वार्ताबाट दर्लामीका दुई छोरीलाई १० कक्षासम्म अस्पतालले निःशुल्क पढाईदिने, बुवा, आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने, छोरीहरुको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति भएको थियो ।

सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यर्कीहरुले आन्दोलन सुरु गरेका हुन् । ‘स्वास्थ्यकर्मीको लापरवाही देखाएर गरिएको सहमतिमा अस्पताल प्रशासनप्रति हाम्रो आपत्ति छ ।’ अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले भन्नुभयो–‘यत्रो सहमति हुँदाखेरी एकआखर हामीलाई सोध्नुपर्छ की पर्दैन ?’

बिरामीको मृत्युपछि कार्यरत स्वास्थ्यकर्मी नर्सलाई मृतककी आमाले हातपात गरेको उनीहरुको आरोप छ । हातपातका कारण अहिले पनि ती नर्सको मनोबल गिरेको छ भने भक्कानीरहेकी छन् । (उनकै आग्रहमा नाम खुलाईएको छैन ।) अस्पतालमा ल्याएर भर्ना गर्दा बच्चाको स्वासप्रस्वासमा समस्या थियो र आफूले चिकित्सककै सल्लाह अनुसार उपचार गरिरहेको तथा त्यस विषयमा डाक्टरलाई पनि जानकारी गराएको ती नर्सको भनाई छ । नर्सहरुका अनुसार बिरामीको मृत्यु हुँदा समेत तीन जना डाक्टरकै निगरानीमा थियो ।

बच्चालाई ल्याडिन्जाईसिस (नाकबाट फोक्सोसम्मको स्वासप्रस्वास नली ‘ल्याडीस’मा संक्रमण) भएपछि उपचारकालागि आफन्तले लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याएका थिए । केस सिरियस भएकाले लुम्बिनीले युसिएमएस रिफर गरेको भएपनि आफन्तले भैरहवाको एक क्लिनिकमा देखाए । त्यो क्लिनिकबाट पनि आम्दा जान भनेपछि बुटवलको तिलोत्तमा अस्पतालमा डा. सन्तोष पोखरेललाई देखाएपछि उहाँले आम्दामा भर्ना गराउनु भएको थियो । डा. सन्तोषको प्रेप्किप्सनले पनि बिरामीको अवस्था सिरियस देखाएको नर्सहरुले बताएका छन् ।

बिरामी बचाउनकालागि उपचार गर्ने भएकाले आफूहरुको प्रयास सधै बचाउनकालागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशिला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्य कर्मी माथि लगाएका सबै आरोपहरु निराधार भएको बताउनु भयो । मृतक बच्चाका आपन्तले उपचारमा रहेका नर्सहरुलाई जहाँ देख्यो त्यही मार्दिन्छु भन्नेसम्मका धम्किका कारण आफूहरुलाई काम गर्ने सुरक्षित वातावरण बनाउन, सिरियस बिरामी आउँदा अव छुने अवस्था नरहेकाले काम गर्ने वातावरण बनाउन तथा स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरुलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग सहित उनीहरु आन्दोलित भएका हुन् ।

उक्त सहमति खारेज गर्नुपर्ने, ज्यानमार्ने धम्की दिने तथा युनिफर्ममै रहेका बेला हात हाल्नेलाई कानुनी कारवाही हुनुपर्ने उनीहरुको माग छ । आफूहरुले उठान गरेका माग पुरा नहुँदा सम्म काममा नफर्किने उनीहरुको अडान छ ।