मातातीर्थ औंशीको अवसरमा विरामी आमाहरुलाई खाम वितरण

1.3K

मातातीर्थ औंशीको अवसरमा विरामी आमाहरुलाई खाम वितरण

बुटवल, २१ बैशाख । बिरामी भेट्न अस्पताल जाँदा फलफूल होइन नगदसहितको खाम दिने अभियान सञ्चालन गरिएको बुटवलमा शनिवार मातातीर्थ औंशीको अवसरमा बिरामी आमाहरुलाई खाम वितरण गरिएको छ । अस्पतालमा भर्ना भएका आमाहरुलाई फलफूल भन्दा सक्दो नगद सहितको खाम दिए उपचारमा सहयोग पुग्ने भन्दै शनिवार खाम वितरण गरिएको हो ।

दुई वर्ष अघि नगद सहितको खाम अभियान चलाउने बुटवलका मुक्ति पौडेलेको अभियानलाई साथ दिदै पहिलो पाइला नामक संस्थाले शनिवार अस्पतालका बिरामी आमाहरुलाई खाम बितरण गरेको हो । बिगतका दिनहरूमा जस्तै सामाजिक कार्यमा सक्रियता देखाउदै संस्थाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेका आमाहरुलाई पहिलो पाईलाले खाम बितरण गरेको जनाएको छ । अस्पतालमा भर्ना भएका आमाहरुलाई केही भएपनि औषधी किन्न सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक पारस मरासिनीले बताउनु भयो ।

यस्तो कार्यक्रमले बिरामीलाई भेट्न आउने अरु आफन्तले समेत खाम दिने व्यवस्था गर्न सकिए त्यो प्रभावकारी हुने विश्वास रहेको मरासिनीले बताउनु भयो । कृयाशिल युवाहरुको संगठित संस्था पहिलो पाइला नेपाल बुटवल शाखाले यस अघिपनि विभिन्न सामाजिक कार्य गर्दै आएको संयोजक मरासिनीले जानकारी दिनुभयो ।

पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष बिष्णु महतको अध्यक्षता र सदस्य पारस मरासिनीको संयोजकत्वमा कार्यक्रम भएको हो । स्मरणीय छ यस्तै अभियान बुटवलवका सामाजिक अभियान्ता मुक्ति पौडेलले दुई वर्ष अघिदेखि सञ्चालन गर्दै आउनु भएको छ । शनिवार मातातीर्थ औंशीको दिन भएकोले अस्पतालमा भर्ना भएका आमाहरुलाई लक्षित गरि खाम वितरण गरिएपनि आगामी दिनमा भने सवै विरामीलाई खाम वितरण अभियान सञ्चालन गरिने बताइएको छ ।