‘स्वस्थ्य जीवनकालागि थोरै खाना’

1.3K

‘स्वस्थ्य जीवनकालागि थोरै खाना’

बुटवल, ३० बैशाख । मानिस स्वस्थ्य भएर बाँच्न चाहने हो भने खाना थोरै खान वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको सुझाव छ । धेरै तथा असन्तुलित भोजनका कारण स्वास्थ्य सम्बन्धि धेरै समस्या उत्पन्न भईरहेको बताउँदै उहाँले खानामा सन्तुलन कायम गर्न र थोरै खान सुझाव दिनुभएको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीको सोमबार बुटवलमा भएको छैठौं साधारण सभा तथा अधिवेशनमा बोल्दै प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले बिभिन्न प्रकारका नसर्ने रोगका कारण सानै उमेरमा मर्नेको संख्या धेरै रहेको भनाई राख्नुभयो । हृदयघात, मस्तिष्कघात, क्यान्सर लगायतका रोगका कारण हुने मृत्यु कसरी रोक्ने जान्न र सुरक्षित रहन पनि उहाँको सुझाव छ ।

‘मुटुको स्वास्थ्यकालागि बिहानको खाना भने छोड्नु हुँदैन, बिहान डम्म खाने र दिउँसो तथा साँझको खाना जतिसक्दो कम खानुपर्छ ।’ उहाँले भन्नुभयो–‘मानिसको शरीरमा दैनिक दुई हजार क्यालोरी आवश्यक पर्छ, त्यहि क्यारोली उत्पादन हुने खाना भए पुग्छ ।’ उहाँले मुटुको स्वास्थ्यकालागि घ्यु, तेलमा पकाएका खाना वर्जित गर्नु नपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो–‘घ्यु, तेल धुँवा आउने गरी तताउनु हुँदैन, त्यो स्वास्थ्यकालागि नकारात्मक छ ।’

उहाँले मुटुलाई स्वस्थ्य राख्नकालागि डिप फ्राई गरेका खानेकुरा, जंगफुड, बोंसोजन्य खानेकुरा नखान सुझाव दिनुभयो । मानिसको शरीरमा दैनिक आवश्यक पर्ने २ हजार क्यालोरी मध्ये ३० प्रतिशत चिल्लो पदार्थबाट प्राप्त गर्नुपर्ने बताउनु भयो । त्यसैले ताजा घ्यु, तेलबाट डराउन नहुने उहाँको भनाई छ । मानिसको शरीरमा कोलस्टोन बढ्ने खानाका माध्यमबाट भन्दा पनि शारीरिक सिष्टमका कारण भएकाले खानाबाट डराउन नहुने उहाँले बताउनु भयो । ‘समस्या खाध्य बस्तुमा होईन, समस्या शरीरमा हो, धेरै कुरा बंशाणुगत गुणमा भरपर्छ ।’ त्यस्तै मुटुलाई स्वस्थ्य राख्न र स्वस्थ्य जीवनयापनकालागि नियमित ब्यायाम, सन्तुलित खानपानमा पनि जोड दिनुभयो ।

प्रतिष्ठान रुपन्देहीका उपाध्यक्ष अजुन रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सल्लाहकार बिमलबहादुर शाक्य, कोषाध्यक्ष उज्ज्वल कसजु, सचिव बोनिन पिया लगायतले भनाई राख्नुभएको थियो ।