
बुटवल, ८ असार । यातायात मजदुरकालागि एक दिने निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ । युनिटी हेल्थ क्लिनिक बुटवल र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा मजदुर लागि निःशुल्क स्वास्थ्य शिबिर गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औँ स्थापना दिवश पारेर आयोजित एक दिने शिबिरमा २ सय बढी मजदुरका स्वास्थ्य परिक्षण गरिएको क्लिनिकका सञ्चालक बिजय आचार्यले जानकारी गराउनु भयो ।
शिबिरमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. लक्ष्मण शर्मा, बरिष्ठ फिजिशियन डा. दिपक अर्याल, मेडिकल अधिकृत डा.प्रदिप श्रेष्ठ लगायतले बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरमा व्लड प्रेसर, सुगर, युरिक एसिडका बिरामीलाई एक महिना सम्मको निशुल्क औषधी पनि उपलब्ध गराएको आचार्यले बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख गोमादेवी आचार्यले सवारी दुर्घटनाबाट धेरै जनाको मृत्यु भएको बताउदै दुर्घटना न्यूनिकरणमा यातायात मजदुर पनि जिम्मेवार हुनु पर्ने बताउनु भयो । यातायात मजदुर निरोगी भएमात्रै राम्रोसंग सवारी चलाउन सक्ने यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन सक्ने भएकाले समय समयमा स्वास्थ्य परिक्षण गराईरहन उहाँले आग्रह गर्नुभयो ।
डा. लक्ष्मण शर्माले गरिव तथा विपन्न, कम आयस्रोत भएका परिवारका सदस्यहरु सामान्य रोगको पनि उपचार गराउन नसकेर मृत्युवरण गर्न परिरहेको बताउँदै रोग लागेर उपचार गर्ने भन्दा पनि रोग लाग्नै दिन नहुनेमा जोड दिनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य ठाकुर गैरेको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश ५ का अध्यक्ष कृष्ण कंडेलले सञ्चालन गर्नु भएको थियो ।