सिद्धार्थनगरमा डेंगु बिरुद्धको अभियान

1.3K

सिद्धार्थनगरमा डेंगु बिरुद्धको अभियान

भैरहवा, १ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ । नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिनेछ, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न, घर वरिपरि सफासुग्घर राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेतना गराइने र यी कार्य नगरपालिकाबाट खटिएका कर्मचारीले पनि गर्ने उपप्रमुख उमा काफ्लेले बताउनु भयो ।
डेंगु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने अभियानमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेको नेतृत्वमा स्वाथ्यकर्मी, अन्य कर्मचारी, स्वास्थ्य स्वयम् सेविका परिचालन गरिएको छ । नगरका १३ वटै वडामा ५० वटा केन्द्रमार्फत् १ सय १ जना स्वयम्सेविका तथा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरिएको न्यौपानेले बताउनु भयो ।