बुटवल, १२ असोज । एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन)को आयोजनामा आईतबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक सहयोग तथा रिटर्नी माईग्रेन्ट नेपाल रुपन्देहीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले सामाजिक संघसंस्थाको रक्तदान गर्ने संस्कृतिकै कारण रगतको अभावमा ज्यान गुमाउनु पर्ने परिस्थितीको अन्त्य भएको बताउनु भयो । अहिले मुलुकभरी डेंगुको संक्रमण बढीरहँदा पनि डेंगुका बिरामीलाई रगतको अभाव भयो भन्ने स्थिती नआएको भन्दै रक्तदान गर्ने संघसंस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले एस्कोन युवाहरुको संस्था भएकाले एस्कोनसंग मिलेर काम गर्न नगरपालिका तयार रहेको समेत बताउनु भयो ।
एस्कोनका अध्यक्ष खिलेन्द्र सिंह जिसी (खेम)को अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायण नेपाल, रिटर्नीका अध्यक्ष रामचन्द्र बस्याल, एस्कोनका उपाध्यक्ष धर्मेन्द्र कसौधन, सचिव ध्रुव पाण्डे लगायतले रक्तदानको महत्व र संस्थाले गर्ने सामाजिक कृयाकलापका बारेमा भनाई राख्नुभएको थियो ।

