बुटवल, २९ असोज । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. औपचारिक उद्घाटनको तयारी गरिएको छ । यहि असोजको दोस्रो हप्तादेखि सेवा शुरु गरेको उक्त अस्पतालको आगामी कात्तिक १ गते औपचारिक रुपमा शुभारम्भ गर्ने तयारी गरिएको हो ।
बुटवल सुख्खानगरमा रहेको तिानउ ईन्टरनेशनल हस्पिटल प्रा.लि.ले बुधबार अस्पतालमै पत्रकार सम्मेलन गरेर अस्पतालले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएको हो । यस क्षेत्रमा न्यूरो र ट्रमाको आवश्यकता महसुर गरेर अस्पताल सञ्चालनमा ल्याईएको अस्पतालका अध्यक्ष करुण खनालले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
आपतकालिन उपचार (ट्रमा सेन्टर)को अभावमा धेरैले ज्यान गुमाउनु परेको र आकस्मिक आईपर्ने समस्या लिएर चितवन तथा काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य गर्नकालागि पनि न्यूरो र ट्रमालाई बिशेष फोकस गरेर अस्पताल सञ्चालन गरिएको उहाँले जानकारी गराउनु भयो ।
यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको समेत मापदण्ड पुरा गरि शुरु गरिएको उक्त अस्पताल त्यस बाहेक अन्य बिशेषज्ञ सेवा समेत प्रदान गरिने छ । उक्त अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी सेवा प्रदान गरिने उहाँले बताउनु भयो । त्यस्तै अस्पतालले इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा प्रदान गर्ने जनाएको छ ।
उक्त अस्पतालको आगामी कात्तिक १ गते औपचारिक उद्घाटन गरिने छ भने विश्व ट्रमा दिवसको अवसर पारेर बिहिबार रोटरी क्वल अफ बुटवल डाउनटाउनको सहकार्यमा अभिमुखिकरण कार्यक्रम गरिने अस्पतालले जनाएको छ ।
फूल एसी सहित २४ वेड स्वीकृती प्राप्त गरेको उक्त आईसीयु सहितको अस्पतालमा ५० बेड क्षमताको रहेको र १४ जना चिकित्सक तथा ९० जना कर्मचारी कार्यरत रहेको अध्यक्ष खनालले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । त्यस्तै आईसीयुमा ८ बेड छन् । त्यस्तै अमेरिकाको ‘साईन फ्याक्चर केयर इन्टरनेशलन’संगको सहकार्यमा तिग्रा तथा खुट्टाको रड निशुल्क गरिएको अस्पतालले जनाएको छ ।


