ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित हुनु भएको छ । उहाँलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो । उहाँले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्नुहुने छ ।
डा. ज्ञवालीलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता (वाईआईए) अवार्ड दिइएको हो । हाल दक्षिणी अन्टारियोको क्यान्सर केन्द्रको अंकोलोजी विभागमा क्यान्सर विज्ञ र क्वीन्स युनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा डा. ज्ञवालीले काम गरिरहनु भएको छ ।
वाईआईएले प्रारम्भिक क्यारियरका अनुसन्धानकर्ताहरूलाई ग्लोबल अंकोलोजीमा गुणस्तरीय अनुसन्धानमा प्रोत्साहित गर्न यो अवार्ड प्रदान गर्दै आएको छ । डा. ज्ञवालीले न्युन आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरुलाई आधारभूत किमोथेरापीको तालिमको विषयमा आफ्नो प्रस्ताव तयार पार्नुभएको थियो । प्रस्ताव अनुसार ग्रामीण भेगका बिरामीहरूलाई घरको नजिक उपचारको सुविधा दिईनेछ । उहाँले यो काम नेपालमा सुरु गर्नुहुने छ । उहाँको प्रस्ताव अनुसार २०२० को अन्त्यसम्म प्रस्ताव लागु हुनेछ ।
