लायन्स क्लव अफ श्रीनगर पाल्पाले पाल्पा अस्पताललाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । अस्पताललाई आवश्यक पर्ने वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन नामक नौ लाख बराबरको बच्चाको उपचारका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
शुक्रवार क्लवका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । १९७० सालमा स्थापना भएको पाल्पा अस्पताल जिल्लाकै पूरानो सरकारी अस्पतालका रुपमा चिनिन्छ । तर समय अनुसार आधुनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाई भइरहेको छ ।
उपचारमा सहज होस् भनी लायन्स क्लब अन्तर्गत इटलीबाट प्राप्त सामग्री अस्पताललाई सहयोगस्वरुप प्रदान गरिएको क्लवका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जिल्लाकै पुरानो अस्पताल भएपनि सामग्रीको अभावमा सेवा प्रवाहमा समस्या परिरहेका बेला क्लवले गरेको सहयोगले अस्पताल संचालनमा ठुलो सघाउ पुग्ने बताउँदै धन्यवाद दिनुभयो ।
क्लवले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु २८ दिनभन्दा मूनिका बच्चाको उपचारका लागि प्रयोग गरिन्छ । यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महंगो शुल्क तिरेर नीजि अस्पतालमा जानुपर्ने बाध्यता थियो । भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदीश कुवरले जानकारी दिनुभएको छ ।
फोटो थेरापीले जण्डिसको उपचार, बेबी रिससिटेसनले स्वासप्रस्वासमा समस्या भएका बच्चालाई कृत्रिम स्वास दिने काम गर्छ भने अप्टीमा सोलुसन हात धुन प्रयोग गरिनेछ । उपचारका सामग्री र औषधीको अभावले सोचेजती विरामीलाई सेवा दिन कठिनाई भइरहेको अस्पतालले जनाएको छ ।