चिनको वुहान सहरमा सन् २०१९ को ३१ डिसेम्बरमा कोरोना भाइरस देखा परेको थियो । अहिले यो भाइरस विश्वभरी नै माहामारीको रुपमा परिणत भएको छ । यो भाइरसले हालसम्म १६२ देशमा अफ्नो कहर बर्साईरहेको छ । १ लाख ७३ हजार मानिसमा यसको संक्रमण देखा परेको छ र ७ हजार बढीको ज्यान पनि लिइसकेको छ । विभिन्न देशहरु हुँदै यो भाइरस अब नेपालको संघारमा उभिएको छ । नेपालको सबैभन्दा बढि सिमानाका जोडिएको र मानीसको ओहोरदोहोर भईरहने भारतमा समेत कोरोना संक्रमण फैलिएपछि नेपालमा खतराको घंटी बजेको छ ।
सरकार तथा अन्य संघसंस्थाले कोरोना भाइरस सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम गरिरहेका छन् । कोरोना भाइरस कस्तो रोग हो ?, यसले मानव शरीरको कुन भागमा असर गर्छ ?, यसका लक्षणहरु केके हुन् ? र यसको संक्रमणबाट बँच्नकालागि के गर्न सकिन्छ ? भन्ने बिषयमा सर्वसाधारण सचेत भन्दा पनि त्रसित भएको देखिन्छ । स्वास्प्रश्वाश सम्बन्धी अन्य रोगसँग कोरोना भइरसका लक्षणहरु मिल्दाजुल्दा छन् । त्यसैले सर्वसाधरणमा अन्य स्वास्थ्य समस्या हुँदा पनि कोरोना भाईरसको संक्रमण भयो की भन्ने त्रास उत्पन्न गराएको छ ।
कोरोना भाइरस लक्षणहरु के के हुन् ? कोरोना भाइरसको संक्रमण हुनबाछ बँच्न विभिन्न उपायहरु औँल्याईएको छ । जस्तै साबुन पानीले हात धुने, स्यानीटाईजरको प्रयोग गर्ने, हाछ््यु गर्दा हातको नभएर कुईनाको प्रयोग गर्ने, माक्स प्रयोग गर्ने आदि । संक्रमण हुनबाट बँच्न कुन माक्सको प्रयोग गर्ने भन्ने विषय नै आम सर्वसाधरण अन्योलमा परेका छन् । कपडाको माक्स, एन ९५ माक्स या मेडिकल माक्स । कुन माक्सको प्रयोग प्रभावकारी छ त ? यीनै बिषयमा रहेर पत्रकार मदन शर्माले लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. सुदर्शन थापासंग गरेको कुराकानीको सारसंक्षप ।
निमोनीयासँग कोरोना भाइरसका लक्षणहरु मिल्ने रहेछन् । कोरोना भाइरसलाई निमोनीयाबाट फरक तुल्याउने लक्षणहरु के के छन् ?
सामान्यतया ८० प्रतिशत कोरोना भाइरसका बिरामीमा सामान्य फ्लुको लक्षणहरु देखा पर्छन् । जस्तो कि रुघाखोकी र ज्वरो । बाँकी रहेका २० प्रतिशत कोरोना भाईरसको संक्रमण भएका बिरामीमा जटिल निमोनीयाकै लक्षणहरु देखिन्छन् र उनीहरुमध्ये ५ प्रतिशत बिरामीलाई आइसियुमा नै राख्नुपर्ने अवस्था हुन्छ । कोरोना भाइरसलाई मात्रै संकेत गर्न जटिल निमोनीयाका बिरामीलाई कोरोना भाइरसको स्फेसिफि टेस्ट (थ्रोट स्वाब कल्चर) नगरी छुट्याउन कठिन हुन्छ । सामान्य लक्षणले मात्रै निमोनीया र कोरोनालाई छुट्याउन गाह्रो छ ।
अलकोहलको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बँच्न सकिन्छ भन्ने कुरामा कत्तिको सत्यता छ ?
अलकोहल खाँदैमा वा यसको प्रयोग गर्दैमा कोरोना भाइरस लाग्दैन भन्ने कुरा पुर्णतया गलत हो । तर ७० प्रतिशत भन्दा बढि अलकोहलको मात्रा रहेको स्यानीटाइजरको प्रयोगले वा त्यसले हात धुने हो भने कोरोना भाइरस नष्ट हुने कुरा सतप्रतिशत सत्य हो । किनभने स्वास्थ्य संघसंस्थामा अलकोहल डिस्ईन्फेक्टेन्टको रुपमा प्रयोग हुने गर्दछ । यसले किँटाणु नष्ट गर्ने काम पनि गर्छ । त्यसैले यसको महत्व बढेको हो ।
कस्ता व्यक्तिले माक्सको प्रयोग गर्ने र कस्तो माक्सको प्रयोग गर्न उपयुक्त मानिन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार जुन व्यक्तिलाई रुघाखोकी तथा फ्लुका लक्षणहरु देखिएका छैनन् त्यस्ता व्यक्तिले माक्सको प्रयोग नगर्नु भनेर स्पष्ट रुपमा भनेको छ । माक्सको प्रयोग त्यस्ता व्यक्तिले अनिवार्य रुपमा गर्नुपर्छ, जो संक्रमित व्यक्तिको नजिकमा रहन्छन् र संक्रमण हुने वातावरणमा भईरहन्छन् । जस्तै बिरामीका परिवार, नर्स, हाक्टर, अन्य स्वास्थ्यकर्मी लगायतले माक्स प्रयोग गर्नुपर्छ । अब रह्यो कस्तो काक्सको प्रयोग गर्ने भन्ने, कपडाका माक्सको प्रयोग गरेपनि नगरेपनि कुनै औचित्य हुँदैन । त्यसैले प्रयोगकर्ताले मेडिकल माक्स नै (३ पत्रले बनेको) प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ । त्यस्तै अर्को ‘एन ९५’ माक्स भनेको निमोनीयका बिरामीलाई रेखदेख गर्ने स्वास्थ्यकर्मीले र कोरोना भाइरसको आशंका भएका वा लागेका व्यक्तिसँग नजिक भईरहनुपर्ने व्यक्तिले प्रयोग गर्नुपर्छ ।