कोरोना महामारीको संकटमा काममा नआउने ५ डाक्टर बर्खास्त

1.3K

कोरोना महामारीको संकटमा काममा  नआउने ५ डाक्टर बर्खास्त

बुटवल २६ चैत्र /प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस सक्रमणको महामारीको संकटमा अस्पताल नआउने चिकित्कहरुलाई कारवाही प्रक्रिया सुरु गरेको छ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट त्यस्ता चिकित्सकलाई कार्वाहीको प्रक्रिया सुरु गरेको हो।

विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले पुष्टि गरे।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको हो ।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए। हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन्।

यसअघि सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएका थिए।

मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका छन्।

मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारवाही प्रकृया शुरु भएको जानकारी दिंदै कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई निरीक्षण गरी कारवाही गरिने बताए।