बुटवल , ६ वैशाख । विश्वभर चुनौती भइरहेको कोरोना भाइरस (कोभिड १९) लाई बागलुङकी ६५ बर्षीया महिलाले पनि जितेकी छन् । धौलागिरी अञ्चल अस्पतालमा चैत १९ गते भर्ना भएकी उनी अस्पतालको अठार दिन लामो बसाईपछि काेराेनामाथी जीत हासिल गरेर घर फर्केकी हुन् ।
घरमा दुई हप्ता क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ अस्पतालले डिस्चार्ज गरेको छ । अन्तिम पटक गरिएको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएपछि अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर उनलाई आजै घर पठाइएको बताइएको छ ।

गत चैत ४ गते कतार एयरवेजबाट नेपाल आएकी बागलुङ नगरपालिका ३ गौंडाकोटकी महिलालाई घर पुगेपछि संक्रमण देखिएको थियो। उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छिन् ।
आज नै काठमाडौं टेकु अस्पतालबाट पनि एक संक्रमित युवती २७ दिनको अस्पताल बसाईपछि कोरानामाथी जित निकालेर डिस्चार्ज भएकी छन्। नेपालमा हालसम्म ३० जना कोरोना संक्रमितमध्ये तीन जना निको भएर घर फर्किएका छन् ।