राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश

1.3K

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा  सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश

 बुटवल २ जेष्ठ /राष्ट्रपती विद्यादेवी भण्डारीले शुक्रवार संसद्मा आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गरेकी छन् । अपराह्न ४ बजेर १५ मिनेटमा शुरू भएको नीति तथा कार्यक्रम वाचन साँझ ६ बजेर ५० मिनेटमा सकिएको थियो । 

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले २ घण्टा ३५ मिनेट लगाएर वाचन गरेको कार्यक्रममा कोभिड– १९ ले पारेको असर र यसका लागि सरकारले चाल्ने नीति समेटिएको छ


सरकारले कोभिड– १९ नियन्त्रणका लागि स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने, स्वास्थ्य क्षेत्रमा पूर्वाधार बनाउने लगायतका कार्यक्रम समेटेको छ ।

कोभिड– १९ का कारण विदेशमा रोजगार गुमाउने श्रमिकका लागि स्वेदशमा रोजगारी, व्यावसायिक कृषिका कार्यक्रम सञ्चालन गर्ने पनि राष्ट्रपतिले वाचन गरेको सरकारका नीति तथा कार्यक्रममा समावेश गरिएका छन् । 

यो बाहेक सरकारका नीति तथा कार्यक्रम अधिकांश पुरानै परेका छन् । विगतका वर्षमा जस्तै पूर्वपश्चिम रेलमार्ग निर्माण, काठमाडौं तराई फास्ट ट्र्याक निर्माण ३ वर्षमा सक्ने, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने र अन्य निर्माणाधीन आयोजनालाई अगाडि बढाउने लगायत कार्यक्रम छन् । 

सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यसै वर्ष समेट्ने पनि बताएको छ ।

लम्बेतान र पट्यारलाग्दो सरकारका नीति तथा कार्यक्रमको अन्तिमतिर राष्ट्रपति भण्डारीले छुटेको भूमि समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरिन् । 

राष्ट्रपति भण्डारीले ‘लिम्पियाधुरा नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न कूटनीतिक पहल गरिने छ’ भन्दा सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।