बुटवल । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश नै ‘लकडाउन’मा भएतापनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको पाइन्छ । आज (मंगलबार) पनि नेपालमा थप १५ जनामा कारोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित संख्या ३९० पुगेको छ । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ११ मध्ये ९ जना झापाको केचना रहेका छन् भने इटहरी २ का १८ वर्षीय युवा र सिमामा कार्यरत एक सशस्त्र प्रहरी रहेका छन् ।कुल संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको छ । हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् ।