बुटवल । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ । तिमध्ये महिला संक्रमितको संख्या ७९ छ भने पुरुष संक्रमित ५२४ रहेको छ । २ महिने शिशु, बालबालिका, पौढ, युवा, वृद्धवृद्धा सबै उमेर समूहलाई यो संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा अधिकांश संक्रमित १७ देखि ५० वर्ष उमेर समूहका छन् । हालसम्म नेपालका सातै प्रदेशमा संक्रमण फैलिएको छ भने ४२ जिल्लामा यो संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमण देखिन थालेको ४ महिना पूरा भइसकेको छ । आज थपिएका १९ जनासहित संक्रमित संख्या ६०३ पुगेको हो । ८७ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस्तै स्वमूल्याकंनको आधारमा कोरोना भएको हुनसक्ने सूचीमा ४४७ जना रहेका छन् ।
पिसीआर विधीबाट हालसम्म कुल ४८ हजार ८ सय १५ जनाको परीक्षण भएको छ । आरडीटि विधिबाट ९० हजार २६ जनाको जाँच गरीएको छ । गत २४ घण्टामा मात्रै पिसिआर विधीबाट २ हजार ८ सय ५६ जनामा परीक्षण गरीएको छ ।
त्यस्तै आरडीटि विधीबाट गत २४ घण्टामा मात्रै ३ हजार ७ सय ९१ जनामा जाँच गरिएको छ । जसमा प्रदेश १ मा १० हजार २ सय ५४, प्रदेश २ मा ६ हजार ३ सय ४४, वाग्मती प्रदेशमा २२ हजार ८ सय ११, गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जना, प्रदेश ५ मा १३ हजार २ सय ६७ जना, कर्णाली प्रदेशमा ९ हजार ३९ जना र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनामा कोरोना संक्रमण भए नभएको जाँच गरीएको छ ।
यस्तै देशभरका क्वारेन्टाईनमा ३९ हजार ८ सय ४ जना रहेका छन् । प्रादेशीक विवरण अनुसार प्रदेश नम्बर १ मा १ हजार ४ सय ५०, प्रदेश २ मा ८ हजार २ सय ३८ जना, वाग्मती प्रदेशमा ५ सय ६२ गण्डकी प्रदेशमा ८८२ जना, प्रदेश ५ मा १९ हजार ५ सय २५ जना कर्णाली प्रदेशमा ३ हजार ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना रहेका छन् । यद्यपी क्वारेन्टाईनबाट पनि संक्रमण फैलिरहेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नभएको भनिएको छ ।
संक्रमितहरु देशका विभिन्न आईसोलेसनमा उपचार गराइरहेका छन् । प्रदेश नम्बर १ मा ६० जना प्रदेश २ मा १ सय ६६ जना वाग्मती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३ जना प्रदेश ५ मा २४७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी कुल ५ सय १३ जना आईसोलेसनमा छन् ।
आइतवार नेपालमा थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको उपचारपछि १७ जना निको भएर घर फर्किएका हुन् । आइतवार नारायणी अस्पतालमा उपचार गराइरहेका बारा पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय ७ पुरुष निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बुटवलको धागो कारखानामा रहेका १० पुरुष जना पिसिआर बिधिबाट परीक्षणमा नेगेटीभ आएपछि उनीहरुलाइ डिस्र्चाज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ भने उपचारपछि ८७ जना घर फर्किएका छन् ।