कोरोना महामारीको मौका छोपेर छड सिमेन्टमा मुल्य बृद्धि

1.3K

कोरोना महामारीको मौका छोपेर छड सिमेन्टमा मुल्य बृद्धि

बुटवल । कारोना भाईरस (कोभिड–१९) को महामारीका कारण मुलुक मारमा परेको मौका छोपेर उद्योगीले छड सिमेन्टमा मुल्य बृद्धि गरेका छन् । छड सिमेन्टमा भएको मुल्य बृद्धिको मार प्रत्यक्ष रुपमा उपभोक्तालाई परेको छ ।
विश्वमा कोरोना भाईरसले महामारीका रुप लिएका कारण कोरोना भाईरसको संक्रमण भित्रिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि मुलुकलाई लक डाउन घोषणा गरेको थियो । कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन घोषणा गरेपछि उद्योगीले सिमेन्टमा प्रति बोरा (५० किलो) मा १ सय रुपैंया र छडमा प्रति किलो १२ रुपैंया सम्म मुल्य बृद्धि गरेको उपभोक्ताहरु बताउँछन् ।
नेपालमा लकडाउन हुनु अंगाडीसम्म ५५० रुपैंयामा पाईने पिपिसी सिमेन्टको मुल्य अहिले ६५० रुपैंया र ६५० रुपैंयामा पाईने ओपिसी सिमेन्टको मुल्य अहिले ७५० रुपैंया पुगेको रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो । उहाँका अनुसार छडमा प्रति किलो १० रुपैंयासम्म मुल्य बृद्धि भएको छ । लकडाउन अंगाडीसम्म ६६ रुपैंया प्रतिकिलोमा पाईने छडमा मुल्य बृद्धि भएर अहिले ७६ रुपैंयासम्म पुगेको छ ।
उद्योगबाट नै मुल्य बढेर आएकाले आफूहरुले बढेको मुल्यमा बेच्न बाध्य भएको बताउँदै संघका अध्यक्ष मरासिनीले उपभोक्ताबाट गुनासोसंगै आफूहरुलाई मुल्य बढाएको आरोप समेत लाग्ने गरेको बताउनु भयो ।
विश्वमा भएको कारोना भाईरसको महामारीका कारण सरकारको ध्यान कोरोना संक्रमण रोक्न केन्द्रित छ । छड सिमेन्ट उत्पादनकालागि आवश्यक पर्ने कच्चा पदार्थको समेत मुल्य बृद्धि नभएको र सरकारको ध्यान कोरोना भाईरस नियन्त्रणमा केन्द्रित भएको मौका छोपेर मुल्य बृद्धि गर्नु सरासर गलत भएको उहाँ बताउनु हुन्छ ।
अहिले सिमेन्ट उत्पादनकालागि आवश्यक पर्ने कच्चा पदार्थहरु क्लिङ्करको मुल्य बृद्धि भएको छैन, सामान ढुवानीको भाडामा बृद्धि भएको छैन, विद्युतमा पनि समस्या छैन । लकडाउनका कारण सामान्य बैंकको व्याजमा समस्या हो, सिमेन्ट बोराको १०/१५ रुपैंयासम्म बढाएको भए ठिकै मान्न सकिन्थ्यो । अध्यक्ष मरासिनीले भन्नुभयो–‘अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्यमा प्रत्यक्ष सम्बन्ध राख्ने फलामको पनि मुल्य बृद्धि गर्नुपर्ने कुनै कारण छैन ।’
उहाँका अनुसार डलरको मुल्य बढ्दा फलामको मुल्य बढ्छ भने घट्दा घट्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्य घटेका कारण फलामको मुल्य घटेकाले छडको मुल्यपनि घटाउनु पर्नेमा उद्योगीले उल्टै बढाएको व्यबसायीको आरोप छ ।
यता पश्चिमाञ्चल सिमेन्ट उद्योग एशोसियशनका अध्यक्ष ऋषि अग्रवालले नेपालमा भएका चुन ढुंगा खानीहरु बन्द भएको र भारतबाट क्लिङ्कर आयात गर्नुपर्दा महंगो परेकाले सिमेन्टमा मुल्य बृद्धि गर्नु परेको दावी गर्नुभयो । उहाँका अनुसार मुलुकमा भएको लकडाउनका कारण मुलुक भित्रका चुनढुंगा खानी बन्द छन्, खानीबाट माल आउन सकेको छैन भने कच्चा पदार्थको अभावकै कारण अहिले पनि कयौं उद्योगहरु बन्द छन् ।