काठमाण्डौ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिनुमा भारतबाट फर्किनेहरुको योगदान रहेको बताउनु भएको छ ।
सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि भारतबाट फर्किनेहरुको परीक्षण नभएको र नियमको पालना पनि नभएको बताउँदै उहाँले परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।
भारतबाट आएकाहरुलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन आग्रह गर्नुभएको छ ।
केही तत्व जनतामा भ्रम फिँजाएर आफ्ना स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले उनीहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् । चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं भन्नु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै फैलिन सक्ने चेतावनी दिदै प्रधानमन्त्री ओलीले समयमै गरिएको लकडाउन, अन्तर्राराष्ट्रिय सीमा नाका र उडान बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई जोगाएको बताउनु भयो ।
औषधि र स्वास्थ्य उपकरणको खरीदमा देखिएको समस्या हल भएको र २० वटाभन्दा बढी प्रयोगशाला सञ्चालनमा आएको भन्दै उहाँले विज्ञहरुको सल्लाहबमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने लक्ष्य रहेको बताउनु भयो ।