‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ?’

1.3K

‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ?’


बुटवल । सरकारले संविधान संशोधनको प्रस्तावका बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले दिइरहेका प्रतिक्रियाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खण्डन गरेको छ ।

नेकपाका नेताहरुले कांग्रेसको अनुरोधमा बुधबार संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको बताएपछि कांग्रेसले आपत्ति जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको दोहो¥याउँदै प्रश्न गरेका छन् । “प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?”

उनले मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागन निर्णय गरेर देशको नयाँ राजनीतिक नक्सा र संविधान संशोधनको पक्षमा उभिने बताइसकेको पनि स्मरण गराएका छन् ।

केन्द्रीय समितिको बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं,” प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसकै अनुरोधमा संविधान संशोधन प्रस्तावलाई संसदको कार्यसूचीबाट हटाएको बताएका थिए । “नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीबाट हटेको हो, फिर्ता भएको होइन । आशा गरौं । नेकांको साथमा प्रस्ताव छिटै पास हुनेछ,” उनले भनेका थिए । ( बाह्रखरीबाट)