बुटवल । कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरपुर अस्पताल चितवनमा गरिएको परिक्षणका क्रममा चार जनामा कोरोना पुष्टि भएको हो ।
कपिलवस्तु नगरपालिकाको बुद्धपद्मा स्कुलको क्वारेनटाइनमा रहेका वडा नं. ९ र १० को निग्लिहवा र वडा नं. ११ जहदीका चार जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
गत जेष्ठ १२ गते १ सय ७० जनाको नमुना परिक्षण गरिएको थियो । जसमध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको हो ।
विहीबार मात्र कपिलवस्तुका २४ जनामा कोरोना देखिएको थियो । जसमा एक जना अर्घाखाँची भूमिकास्थान नगरपालिकाका थिए । उनको मृत्यु भएपछि कृष्णनगरबाट स्वाब संकलन गरिएको थियो । यस संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ ।
कपिलवस्तु जिल्लामा कूल १५ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार आज थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना रहेका छन् भने उनीहरुको कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो । यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ ।