काठमाडौँ । सरकारले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदै छ । मन्त्रिपरिषद्काे शनिबारकाे बैठकले काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्य योजना स्वीकृत गरेको छ । लकडाउनको मोडालिटी भने हेरफेर हुनसक्ने बताइएको छ । साथै बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।