पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. ७ पालुङ्मैनादीमा रहेको पालुङ्मैनादी आयुर्वेद औषधालयको सञ्चालन तथा व्यबस्थापन समिति पूनर्गठन गरिएको छ । आईतबार वडा कार्यालयमा बसेको बैठकले वडा अध्यक्ष नीलबहादुर रासकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । आयुर्वेद औषधालय सञ्चालन तथा व्यबस्थापन गर्न बनाईएको निर्दे्शिका अनुसार वडा अध्यक्ष पदेन अध्यक्ष रहने व्यबस्था छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष संरक्षक रहने व्यबस्था अनुसार रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी संरक्षक रहेको ७ सदस्यीय समिति गठन गरिएको पालुङ्मैनादी आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपालले जानकारी गराउनु भयो । पूनर्ग्ठित समितिको उपाध्यक्षमा दोलख कार्की, सदस्यहरुमा नारायणबहादुर कुवँर, शिवबहादुर कुवँर, कमला थापा (जिसस सदस्य), रामबहादुर राना र सदस्य सचिवमा औषधालयका प्रमुख डा. रोमहर्ष नेपाल रहनु भएको छ ।
समिति गठनपछि बसेको बैठकले कार्यालयको नवनिर्मित भवनबाट कार्यालय सञ्चालनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । आयुर्वेद औषधालयको कार्यालय प्रयोजनकालागि नयाँ भवन निर्माण सम्पन्न भएपनि मुलुकमा भएको लकडाउनका कारण हस्तान्तरण हुन सकेको छैन । जसका कारण भाडामा सञ्चालित औषधालयबाट सेवा प्रवाहमा समस्या भएको डा. नेपालले बताउनु भयो ।
त्यस्तै औषधालयबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउनकालागि गाउँपालिकाका सबै वडासंग समन्वय गर्ने, औषधालयमा आवश्यक सामाग्रि तथा उपकरण खरिद गर्ने र अत्यावश्यक सामान तथा उपकरण खरिदकालागि गाउँपालिकामा माग गर्ने लगायतका निर्णय भएको डा. नेपालले जानकारी गराउनु भयो ।