व्यवस्थित गरेर लकडाउन खुकुलो बनाउन व्यवसायिक संस्थाहरुको आग्रह

1.3K

व्यवस्थित गरेर लकडाउन खुकुलो बनाउन व्यवसायिक संस्थाहरुको आग्रह


बुटवल । कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनकालागि सरकारले गरेको लामो लकडाउनका कारण उद्योग व्यबसाय धारासायी भएको र यसले मुलुकको अर्थतन्त्रलाई समेत नराम्रोसंग प्रभावित गरेको भन्दै रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुले व्यबस्थित गरेर लकडाउनलाई केही खुकुलो बनाउन आग्रह गरेका छन् ।

रुपन्देहीका व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरुको टोलीले आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै उद्योग व्यबसायलाई थप धाराशायी हुनबाट जोगाउन र मुलुकको अर्थतन्त्रलाई चलायमान गराउन तथा उद्योग व्यबसाय क्षेत्रमा कार्यरत कर्मचारी (मजदुर)हरुको रोजगारी समेत सुनिश्चित गराउनकालागि व्यबस्थित गरेर लकडाउनलाई केही खुकुलो गराउन आग्रह गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल, उद्योग व्यापार संघ रुपन्देहीका गोबिन्दप्रसाद गैरे, सैनामैना व्यापार संघका गणेशप्रसाद भुसाल, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्को टोलीले लकडाउन खुकुलो बनाउनकालागि आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएको हो ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिका समेतलाई बोदार्थ दिईएको उक्त ज्ञापन पत्रमा खाद्यान्न, तरकारी तथा डेरीजन्य अतिआवश्यक बस्तु तथा सामान प्रत्येक दिन बिहान ६ देखि ९ बजेको बिचमा बिक्रि वितरणको व्यबस्था मिलाउन, खाद्यान्न, थोक तथा अन्य सबै प्रकृतिका व्यबसाय बिहान १० देखि दिउँसो ३ बजेसम्म, बैंक तथा बित्तिय संस्थाहरु नियमित सञ्चालनको व्यबस्था मिलाउन, रोजगारीकालागि छिमेकी मुलुक भारत गई अहिले फर्किएका नेपाली नागरिकलाई सम्बन्धित नाकाबाटै सम्बन्धित जिल्ला पठाउने व्यबस्था मिलाउन तथा उनीहरुको सीप तथा अनुभवको क्षेत्र समेतको लगत संकलन गर्न समेत आग्रह गरिएको छ ।

त्यसरी लगत राख्दा कोरोना संक्रमणको भय समाप्त भएपश्चात स्वदेशी उद्योग व्यबसायमा रोजगारी प्रदान गर्न समेत सहज हुने ज्ञापन पत्रमा उल्ले गरिएको छ । त्यस्तै कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम तथा संक्रमणबाट बच्न र सबैलाई बचाउनकालागि व्यबसायिक संघसंस्था तथा सरोकारवाला निकायलाई स्वास्थ्य सचेतना तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने व्यबस्था मिलाउनकालागि समेत आग्रह गरिएको छ ।