सर्वोच्च अदालतको अन्तरिम आदेश , लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

1.3K

सर्वोच्च अदालतको अन्तरिम आदेश , लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने


काठमाण्डौ । लकडाउनको बेलामा करदातालाई राजस्व दाखिला गर्न बाध्य नपार्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको इजलासले आगामी असार १५ गतेभित्र विवरणका साथै कर दाखिला गर्नु भन्ने आन्तरिक राजस्व विभागको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सुरुमा जेठ २५ गतेभित्र कर दाखिला गर्नु भनी सूचना निकालेको विभागले पछि त्यसलाई संशोधन गरेर असार १५ गते पु¥याएको थियो । कर तिर्ने अवस्था नभएको र वातावरणसमेत प्रतिकूल रहेको भनी अधिवक्ताहरु सिर्जना अधिकारी र अधिवक्ता थानेश्वर काफ्लेसमेतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

निवेदनमाथि एकमुष्ट सम्बोधन गर्दै सर्वोच्च अदालतले लकडाउनको बेलामा व्यापाररव्यवसाय ठप्प भएकाले उद्योगीरव्यवसायीहरुले कर तिर्नसक्ने अवस्था नदेखिने भनी व्याख्या गरेको हो । ‘लकडाउनले व्यवसायीहरुले आ(आफ्नो पेसा रोजगार र उद्योग व्यापार सञ्चालन गर्न सकेका छैनन्’ आदेशमा भनिएको छ, ‘लामो बन्दाबन्दीपछि आफ्नो कर्मचारी एवं हिसाबकिताबको व्यवस्थापन गरी सम्बन्धित कर विवरण तथा विवरणबमोजिम कर तिर्न सक्ने आवश्यक व्यवस्था गर्न तत्काल पूर्ण सक्षम हुन्छन् भन्ने अनुमान गर्ने आधार देखिँदैन ।’

लकडाउन खुलेपछि पनि कम्तीमा एक महिनाको सुविधा दिनुपर्ने भन्दै सर्वोच्चले आन्तरिक राजस्व विभागको सूचनामा उल्लेख भएको अवधिले करदातालाई सुविधा दिएको भन्दा पनि सन्त्रास सिर्जना गरेको टिप्पणी गरेको छ । असामान्य र असहज परिस्थितिमा राज्यले जनतालाई सहयोग र सुविधा दिनु अपेक्षित हुने भन्दै सर्वोच्चले पेसा, रोजगार, व्यापार र व्यवसायले तत्काल गति लिने अनुमान गर्न सक्ने अवस्था र परिस्थिति नभएको भन्दै अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘त्यो सूचना लकडाउनको अवधिभर कार्यान्वयन नगरी लकडाउन पूरा रुपमा खुलेपछि बाटो म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु ।’

सर्वोच्चले लकडाउनपछि पनि सामाजिक दूरी कायम राख्नुपर्ने भन्दै विवरण र कर राजस्व बुझाउने प्रक्रिया र कार्यविधिलाई सरल बनाउन आदेश दिएको छ । अनि लकडाउन खुलेपछि पनि नयाँ परिस्थिति सिर्जना भई देशभर वा कुनै क्षेत्र प्रभावित भएमा र त्यसका कारण व्यवसायीले कठिनाई व्यहोरामा न्यायोचित रुपमा कर तिर्ने समयावधि तोक्न आदेश जारी गरेको हो ।