नेपाल ट्रेड युनियन काँग्रेसले मजदुरहरुको कष्टकर दैनिकीलाई सहज बनाउन माग गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही तथा त्यसका आवद्ध संस्थाहरुको टोलीले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई ज्ञापन पत्र बुझाउँदै बिशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको दैनिकीलाई सहज बनाउनकालागि माग गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले गरेको लकडाउनका कारण अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुहरुको दैनिकी दिनप्रतिदिन कष्टकर बन्दै गएको भन्दै दैनिक ज्याला मजदुरी गरि जिवनयापन गर्ने मजदुरलाई दैनिक जिवन यापन गर्न सहज वातावरण सिर्जना गराईदिनकालागि माग गरिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीले बताउनु भयो ।
त्यसकालागि नेपाल ट्रेड युनियन काँग्रेसले मजदुरकालागि उचित राहत वितरणको हुनुपर्ने, बैंक किस्ता, व्याजदर, कर, घरभाडा लगायतमा सहुलियत हुनुपर्ने, काम गर्ने स्थानमा सेनिटाईजर, सावुन पानी, मास्क, आवास र यातायातको समेत व्यबस्था हुनुपर्ने, कोरोना बिमा सरकारद्वारा गरिनुपर्ने, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाका उपकरण व्यबस्था गरिनुपर्ने, ‘नो वर्क, नो पे’को व्यबस्था खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा ऐन कडाईका साथ कार्यान्वयन गरिनुपर्ने, रेडजोनमा परेका व्यबसाय सञ्चालनकालागि आवश्यक सहजिकरण गर्नकालागि ट्रेड युनियनले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको हो ।
उक्त ज्ञापन पत्र बुझाउन गएको ट्रेड युनियनको टोलीमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवी गुरुङ्, व्यूटिसियन संघकी केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, ट्रेड युनियन काँग्रेस रुपन्देहीका सचिव हिमबहादुर केसी, कोषाध्यक्ष सुर्यदेव दास, सहसचिव अस्वीन पौडेल, आवद्ध संघबाट नरबहादुर रजाली, रेनु कर्माचार्य, उमेश ठाकुर, लालमणी भण्डारी, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही सिद्धार्थनगर समितिका अध्यक्ष रामबहादुर गुरुङ् सहभागि हुनुहुन्थ्यो ।