सरकारले छोटो दुरीमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालन गर्न पाउने सरकारका प्रवक्ता अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतीवडाले जानकारी गराउनु भएको छ ।
तर सार्वजनिक सवारी साधन काठमाण्डौमा उपत्यका भित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाईने छ । मन्त्री खतीवडाले ट्याक्सीहरु तत्कालै चल्नसक्ने भएपनि अन्य सार्वजनिक सवारी साधन सञ्चालनको तयारी गर्न केही समय लाग्ने बताउनु भयो ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा मात्रै यात्रु बस्न पाउने छन् भने ट्याक्सीमा चालक बाहेक २ जना मात्रै बस्न पाउने छन् । सवारी साधनको ढोकामा स्यानीटाईजर अनिवार्य राख्नुपर्ने र मास्क अनिवार्य लगाउनु पर्नेछ । त्यस्तै चालक तथा सहचालकले मास्क, भाईजर तथा पञ्जा लगाउनु पर्ने र दिनको एकपटक सवारी साधन निसंक्रमण गर्नुपर्नेछ ।
कोरोना भाईरस (कोभिड–१९) को महामारी नसकिउन्जेल यात्रुले साविकको भन्दा थप पचास प्रतिशत भाडा तिनुपर्नेछ ।