‘हमालको घरमा डोजर, नीजि क्षेत्रमाथिको हमला’

1.3K

‘हमालको घरमा डोजर, नीजि क्षेत्रमाथिको हमला’

बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ निवासी खिमबहादुर हमालको घरमा नगरपालिकाले डोजर चलाएको घटना प्रति ध्यानाकर्षण भएको बताउँदै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरुले नीजि क्षेत्र माथिको हमलाको रुपमा लिएका छन् ।
संघका पूर्वअध्यक्षहरुले शुक्रबार साँझ प्रेस बिज्ञप्ती जारीगरी संघका अध्यक्ष समेत रहेका हमालको घरमा डोजर चलाएको घटना व्यक्तिगत जस्तो देखिएपनि सम्पुर्ण व्यवसायिक तथा निजी क्षेत्र प्रति लक्षित रहेको औंल्याइएको हो । समस्या समाधानकालागि पटक पटक भएका प्रयासमा नगरपालिका ठोस कदम चाल्न तयार नभएपछि अन्तिम विकल्पको रुपमा अदालतमा गएको र मुद्धा बिचाराधिन भएकै समयमा एकाएक डोजर चलाईनु अमानवीय र संवेदनहिन तरिकाबाट भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघका पूर्व अध्यक्षहरु महेश कुमार राजभण्डारी, हिरा प्रसाद श्रेष्ठ, जिवन प्रसाद वझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैजू, कुश प्रसाद मल्ली, निर्मल प्रसाद लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ र सुरेन्द्र प्रसाद श्रेष्ठले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा बुटवल क्षेत्रको सामाजिक आर्थिक विकासमा बिशिष्ट योगदान रहेको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उल्लेखनिय भुमिका खेलेको संस्थाप्रति विकास बिरोधीको रुपमा चित्रण गर्नु तथा संघको नेतृत्वलाई लक्षित गरी नियतबस घटना घटाइनु आफैमा अकल्पनीय तथा अस्वभाविक क्रियाकलाप रहेको औंल्याईएको छ ।
‘अभिभावकको रुपमा रहेको स्थानिय सरकारले अदालतमा बिचारधिन रहेको मुद्दामा अमानवीय शैलीमा घर भत्काउनु, न्यायलय प्रतिको अवहेलना, जनता प्रति असंवेदनशिल तथा बिधीको शासन लत्याएको महशुस गरेका छौं ।’ विज्ञप्तीमा भनिएको छ–‘मापदण्ड अनुसार निमार्ण भएको घर भत्काइएकोमा सामाजिक न्याय बिपरित, अमानविय कार्यको छानबीनको माग गर्दै उक्त निमार्ण तथा जग्गाका साथै तत्कालिन अवस्थामा प्रचलित कानुनको मापदण्ड पुरा गरेका सबै घरधनीहरुलाई समेत तत्काल उचित मुआब्जा प्रदान गर्न सम्बन्धित निकायमा आवश्यक कार्यवाहीको लागि जोडदार माग गर्दछौं ।’