नेपाल महिला संघको ७३ औं स्थापना दिवशको अबसरमा महिला संघ रुपन्देहीले अनाथ बालबालिकाहरुलाइ खाद्यान्न बितरण गरेको छ । महिला संघले एक कार्यक्रमका बिच मणिग्रामको आत्मशान्ती अनाथ आश्रममा रहेका बालबालिकालाई खाद्यान्न प्रदान गरेको हो ।
महिला संघ रुपन्देहीकी सभापती गंगा शाही, नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, जिल्ला सदस्य माया गौतम, मिना भण्डारीले चामल, दाल, तेल, लगायतका खाद्य सामाग्री आश्रमका संचालक मैनादेवी भण्डारीलाई हस्तान्तरण गर्नु भयो ।
त्यस अवसरमा सभापती रज्जाकले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा महिलाहरुको ठुलो योगदान रहेको र त्यसको नेतृत्व नेपाल महिला संघले गर्दै आएको बताउनु भयो । महिला संघकी सभापती शाहीले राज्यका हरेक निकाय, सामाजिक क्षेत्र र पार्टी भित्रै पनि महिला अधिकार स्थापित गराउन महिला संघले महत्वपुर्ण भुमीका खेल्ने बताउनु भयो ।
महिला संघका सदस्य रुपा पुनको संचालन र विष्णु पराजुलीको स्वागतमा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य मिना भण्डारी लगायतले बोल्दै स्वर्गीय नेताहरु मंगलादेवी सिंह, नोना कोइराला, शैलजा आर्चायको योगदानको चर्चा गर्नु भएको थियो । स्वर्गीय मंगलादेवी सिंहले २००४ साल साउन २४ गते गठन गरेको नेपाल महिला संघ नेपाली काँग्रेसको सबैभन्दा जेठो भातृ संस्था हो ।