कोरोना भाईरसले महामारीको रुप लिएका बेला सरकारले विपद्मा मृत्यु हुनेको परिवारलाई तत्कालै २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रि परिषदको बैठकले एकै परिवारमा एक जना व्यक्तिको निधन भएमा २ लाख र त्यसभन्दा बढीको मृत्युमा थप प्रतिव्यक्ति १ लाख रुपैंयाका दरले परिवारलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी मन्त्रि परिषद बैठकले विपद्बाट घर आवास नष्ट भएमा ५ जना सदस्य भएको परिवारलाई १५ हजार रुपैंया र उक्त परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा २० हजार रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज तिवडाले जानकारी गराउनु भएको छ ।
विपतका घटनामा परी खाद्यान्न तथा बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल १ लाख रुपैयाँसम्म सहायता दिने निर्णय सरकारले गरेको छ । घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति १ हजार यातायात खर्च पनि सरकारले दिनेछ ।