कोभिड– १९ र डिजिटल शिक्षा

1.3K

कोभिड– १९ र डिजिटल शिक्षा


भुपेन्द्र कोईराला/ स्याङजा । आज सम्पुर्ण विश्व कोरोना महामारी बाट पीडित छ । मानिस आफ्नो जिवनका लागि संघर्ष गरिरहेको छ ।साथै विभिन्न देखावटी, अनावश्यक र विलासी वस्तुहरु मानिसको दैनिकी बाट घटीरहेका छन् । यस्तो अवस्था हुँदा हुँदै पनि हामी सबै दिन प्रतिदिन सरल जीवन यापन तर्फ लागिरहेका छौं । जसका कारण अनेक परिवर्तन हरु आइरहेको छ, त्यस मध्ये शिक्षा क्षेत्र पनि एक हो ।

अहिले हामिहरु अत्यन्तै असामान्य परिस्थितीको सामना गरिरहेका छौं । प्रत्यक्ष रुपमा हामी समाजका अन्य विभिन्न पक्ष सङ्ग सम्पर्क गर्न असमर्थ छौं । तर के जीवन साच्चै रोकिएको हो त ? पक्कै होइन, जीवन रोकिएको नभई यसले आफ्नो रुप परिवर्तन गरिरहेको छ । अपेक्षाहरु नयाँ रुपमा आइरहेका छन् , मानिसले हार नमान्ने आफ्नो स्वभावका कारण ती अपेक्षाहरु पूरा गर्न प्रयासरत छ ।सोही स्वभावले उसलाई हौसला प्रदान गरिरहेको छ ।

अब यो स्पष्ट भएको छ कि वर्तमान शैक्षिक सत्र पारम्परिक रुपमा स्थापित मापदण्डका आधारमा पूरा गर्न सकिदैन, त्यसैले नीति निर्माताहरुले यसको दुरगामी असरको पुर्वानुमान गरि बैकल्पिक बिधीको कार्य प्रारम्भ गरेको पाइन्छ । आज अध्ययन अध्यापनको डिजिटल स्वरुपलाई मान्यता दिइएको छ । कक्षाकोठामा प्रत्यक्ष रूपमा शिक्षक( विद्यार्थीका बिच हुने सिकाइ प्रणालीको स्थान ईन्टरनेट, मोबाईल, कम्प्युटर, टि भि, रेडियो आदिमा आधारित कक्षाले लिइसकेका छन् ।

जुम, डिजिटल क्लासरुम, गुगल क्लासरुम आदिले आफ्नो लोकप्रियताका आधारमा शिक्षा जगतमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । शुरु शुरुमा यसको प्रयोगमा केही कठिनाई महसुस गरिएतापनि अभ्यस्त भए पछि यो सरल हुने देखिन्छ । तर प्रबिधीको प्रयोगमा केही समस्या त अवश्य हुन्छ नै । अचानक ईन्टरनेट जानू, स्पिड कम हुनु, सिकाउने व्यक्ति साथमा नहुनु, ईन्टरनेट बाट नै रेकर्ड गर्ने, नोट बनाउने, डिजिटल कपि तयार गर्ने, विद्यार्थी सङ्ग सम्वाद गर्न समस्या आदि जस्ता कठिनाइ त हुन्छन् नै । तर पनि इच्छाशक्ति, अतिरिक्त समय र प्रयास द्वारा शिक्षकहरु यस बिधिको प्रयोग गरि अध्यापन गर्न तथा बिद्यार्थीहरु शिक्षा प्राप्त गर्न उत्सुक देखिन्छन् , जुन एक शुभ सङ्केत पनि हो ।

यो एउटा नयाँ प्रकारको परिवर्तन हो । आउँदा दिनहरुमा यस्को बृहत् असर हुन सक्दछ । बिगतमा यस्को प्रयोगका बारेमा छलफल हुने गरेको भएतापनी सुक्ष्म रुपमा यस्लाइ महत्त्व दिइएको थिएन । तर कोभीड १९ को अनेक दुष्परिमाणको प्रभावका कारण उत्पन्न परिस्थितिले डिजिटल शिक्षाको यथार्थता लाई हामी माझ साक्षात्कार गराएको छ ।

समानान्तर शिक्षा प्रणालीका रुपमा चल्ने कोचिङ्ग सेन्टर तथा संस्थागत विद्यालयहरुले यस्को प्रयोगमा जोड दिइसकेका छन् । जस्ले गर्दा शिक्षा क्षेत्रमा यस्को प्रयोगमा बल पुगेको देखिन्छ । अर्को तर्फ डिजिटल शिक्षाको सम्भावित दोषहरु बाट जोगिनु पनि उत्तिकै आवश्यक हुन्छ । केवल विषय सुचि दिने, प्रश्नावली तथा नोटहरु सम्प्रेषण गर्ने, गृहकार्य दिने आदि लाई मात्र अध्यापनको इतिश्री मान्नु उचित हुदैन । दोहोरो सिकाइ र द्विपक्षीय सम्प्रेषणको चुनौती पनि ब्यबहारिक रुपमा यस बिधीमा देखिन्छ । जस्को उत्तर खोज्न अझै बाकी नै छ ।