असोज १ देखि यातायात तथा होटल व्यबसाय सञ्चालन गर्न दिने सरकारको निर्णय पछि होटल तथा यातायात व्यबसायी सकारात्मक देखिएका छन् । तर सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यबसायी भने अन्यौलमा छन् । विश्वभर फैलिएको कोरोना भाईरस महामारीको संक्रमण फैलिन नदिनकालागि नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण यातायात र होटल व्यबसाय ६ महिना ठप्प भएका थिए ।
सरकारले असोज १ देखि सञ्चालन गर्ने निर्णय गरेपनि ढुक्कसंग सञ्चालन गर्ने वातावरण भने अझै बनिसकेको छैन । यातायात तथा होटल व्यबसाय सञ्चालन गर्ने निर्णयले संक्रमणको भय झनै बढेको छ । यसकारण पनि ढुक्क भएर सार्वजनिक यातायातमा यात्रा गर्न र होटलमा बस्न मान्छेहरुले संकोच मान्ने कतिपयको विश्लेषण छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ गतेदेखि लामो दुरीका यातायात, होटल व्यबसाय र आन्तरिक हवाइ उडान खुलाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेपनि उक्त निर्णय अनुसार जिल्लामा परिपत्र नहुँदा असोज १ देखि यातायात सेवा सञ्चालन गर्न रुपन्देहीका यातायात व्यबसायीलाई अन्यौल परेको छ ।
स्थानीय प्रशासनले रुपन्देहीमा असोज ४ गतेसम्मका लागि लकडाउन गरेको र संघीय सरकारले १ गतेदेखि नै यातायात तथा होटल व्यबसाय सञ्चालन गर्न दिने निर्णय गरेपनि त्यसको परिपत्र नआउँदा समाचारका भरमा निर्णय लिन समस्या भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बवर घिमिरेले बताउनु भयो । मन्त्रीपरिषदको निर्णय आएपछि यातायात व्यबसायीले स्थानीय प्रशासनसंग समन्वय गरेर १ गतेदेखि नै यातायात सञ्चालन गर्ने तयारी गरेका थिए ।
तर स्थानीय प्रशासनको असोज ४ सम्म गरेको लकडाउन कायमै हुने भएकाले प्रशासन संग समन्वय गर्दा प्रमुख जिल्ला अधिकारीले केही दिन पर्खिन आग्रह गरेको बुटवल यायायात प्रालिका सचिव दिपकप्रसाद श्रेष्ठले बताउनु भयो । ‘हामीले पहिले ५ गतेदेखि सञ्चालन गर्ने मोटामोटी तयारी गरेका थियौं, मन्त्रीपरिषदले १ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेपछि १ देखि नै चलाउने सोँच बनायौं ।’ उहाँले भन्नुभयो–‘सिडियोसंग समन्वय गर्दा परिपत्र नआएको भन्नुभयो, हामी त्यसै अन्यौलमा पर्यौँ ।’ उहाँका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले – ‘केन्द्रबाट परिपत्र आएको छैन, परिपत्र आयो भने सोही अनुसार बिज्ञप्ती जारी हुने र सोही अनुसार गर्नुहोला’ भन्नुभएको छ ।
मन्त्री परिषदको बैठकले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न र दोब्बर भाडा उठाउन दिनेगरी सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको थियो । तर सार्वजनिक यातायात सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेछ ।
सरकारले स्वागतयोग्य निर्णय गरेको बताउँदै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी योसंगै व्यबसायीको समस्या पनि सम्बोधन गरेको भए अझै सुनमा सुगन्ध हुने बताउनु हुन्छ ।
कोरोना भाईरस (कोभिड–१९) को जोखिम अझै पनि कायमै रहेको र लकडाउन हटाएपछि यसको जोखिम अझै बढ्ने भएकाले होटल व्यबसाय सञ्चालन गर्दा व्यबसायीहरुले पूर्णतया स्वास्थ्य मापदण्ड पालना गरेर व्यबसाय सञ्चालन गर्न आफूहरु तयार रहेको उहाँको भनाई छ ।
कोरोना महामारीका कारण आफूहरुका व्यबसाय ६ महिना पूर्णरुपमा बन्द भएकाले बैंक व्याज छुटको व्यबस्था, आफ्ना मजदुरहरुको कोरोना बिमा तथा यस बिचमा मजदुरहरुलाई दिनुपर्ने पारिश्रमिकका केही प्रतिशत भएपनि सरकारको तर्फबाट सम्बोधन भईदिएको भए व्यबसायीले राहतको महसुस गर्न सक्ने उहाँले भनाई राख्नुभयो ।