सरकारले दशैं तिहार लगायतका चाडपर्व मनाउनको लागि मापदण्ड तोकेको छ । सरकारले तोकेको मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा जानकारी गराईएको हो ।
दशैं लगाएतका पर्वहरुमा टिका तथा प्रसाद वितरण तथा ग्रहण समेत नगर्न मन्त्रालयले आग्रह गरेको छ । वितरण तथा ग्रहण गर्नै पर्ने भएमा एक जना मात्रै सहभागि हुन सरकारको आग्रह छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण उल्लासमय वातावरणमा चाडपर्व नमनाउन आग्रह गर्दै सरकारले घर परिवारमा मात्रै पर्व मनाउन आग्रह गरेको हो ।
सरकारले चाडपर्वमा पैसाको कारोवार नगर्न तथा गर्नै पर्ने भएमा विद्युतीय माध्यमको प्रयोग गर्न पनि आग्रह गरेको छ । चाडपर्व केन्द्रित कुनै कार्यक्रम नगर्न तथा गर्ने पर्ने भए सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
सरकारले जारी गरेको मापदण्डमा घर बाहिर नजान र जानैपर्ने भए मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, धार्मिक स्थल तथा मेला पर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्ने, अँगालो मार्न वा शरीर छुन नपाइने, देवीदेवताका मूर्तिहरू छुन नपाईने तथा सार्वजनि स्थलमा थुक्न समेत निशेध गरिएको छ ।
ज्वरो खोकी लागेका व्यक्ति, १२ वर्ष मुनी र ६० वर्ष उमेर माथिका, गर्भवती, सुत्केरी महिला, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई पनि कुनै कार्यक्रममा सहभागि नहुन आग्रह गरिएको छ ।