बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेका सटरमा नयाँ टेण्डर खोल्ने क्रममा झडप भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ५ मा नगरपालिकाको स्वामित्वमा रहेको ९६ वटा सटरको टेण्डर आह्वान गरि सोमबार खोल्ने क्रममा ती सटमा व्यबसाय गरिरहेका व्यबसायिले बिरोध गरेपछि झपड भएको हो ।
टेण्डर दर्ताको समय १२ बजेसम्मको समय दिएपनि नगरपालिकाले त्यसपछि पनि आएको टेण्डर दर्ता गरेको भन्दै उपमहानगरपालिकाको व्यबसायिले घेराउ गरेका थिए । व्यबसायीले नगरपालिका घेराउ गरेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।
१७ वर्ष पहिले शेर्पा टि कम्पनीसंग भाडामा लिएर व्यबसाय गर्दै आएका व्यबसायीले आफूहरुलाई नगरपालिकाले बिस्थापित गर्न खोलेको भन्दै उक्त टेण्डरको बिरोध गरेका थिए । शेर्पा टि कम्पनीले सार्वजनिक साझेदारी कार्यक्रम अन्तरगत १५ वर्षपछि नगरपालिकाले स्वामित्व लिनेगरी सम्झौता भएको नगरपालिका स्रोतले बतायो । यद्यपी २ वर्ष अंगाडी नै त्यसको म्याद समाप्त भएको थियो ।
सम्झौताको म्याद सकिएको दुई वर्षपछि नगरपालिकाले ३० दिने सूचना प्रकाशित गरि टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले चलखेल गरेर आफूहरुलाई हटाउन खोजेको व्यबसायिको आरोप छ ।
यता नेपाली काँग्रेसले नगरपालिकाले साना व्यबसायीलाई बचाउने भन्दा पनि दुःख दिने काम गरेको टिप्पणी गरेको छ । नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले साना व्यबसायीलाई विकल्प सहितको योजना बनाउनु पर्नेमा नगरपालिकाले उनीहरुलाई धपाउने योजना बनाएको बताउनु भयो । ‘साना व्यबसायीलाई बचाउने भन्दा पनि दुःख दिने काम भएको छ ।’ उहाँले भन्नुभयो–‘उनीहरुलाई बचाउने कुरामा नेपाली काँग्रेसले साथ दिन्छ ।’