सरकार सञ्चालन गर्ने साँचो बाहिरै छ : चित्रबहादुर

1.3K

सरकार सञ्चालन गर्ने साँचो बाहिरै छ : चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको सरकार सञ्चालन गर्ने साँचो देश बाहिरै भएको टिप्पणी गर्नुभएको छ । शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनु पर्ने बताउनुभयो । गण्तन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, संघीयता र भ्रष्टाचारको बिरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिण तिरबाट नेपालको भूगोलमाथि आक्रमण भैरहेको दावी गर्नुभयो ।
उहांले नेपाली जनताले लामो समयसम्म कुरवानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गरेको आरोप लगाउनुभयो । छिमेकीले नेपालमा हिन्दुराज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केसीले जनताले चाहेको गणतन्त्र ल्याउन परवर्तनका उपलब्धीहरुको रक्षा गर्नुपर्ने बताउनुभयो । गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउंदै हिजो राजाबाट फाइदा लिएकाहरु आज सडकमा नारा लगाउंदैमा राजतन्त्र फर्कन सम्भव नभएको समेत जिकिर गर्नुभयो ।
उहांले सत्तामा रहेको नेकपा कम्युनिष्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिष्ट हुन नसक्ने बताउनुभयो । सत्तापक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्दा पनि प्रतिपक्ष बोल्न नसकेको बताउंदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको आरोप लगाउनु भयो ।
पार्टीकी लुम्बिनी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउंदै अर्काको भर गरेर ऋणमा संघीयता टिकाउन नसकने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका मसालका रुपन्देही प्रवत्ता नारायण जीसीले संघीयताले देशको अवस्था कठिन मोडमा पुगेको बताउंदै राष्ट्रिय सावैभौमिकता र एकता खलबलिएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले गणतन्त्रको रक्षा गर्दै जनवादी क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताउंदै गाणतन्त्र र धर्म निरपेक्षताको संरक्षणमा राष्ट्रवादी शक्ति मिल्नु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।