हुस्सु र कुहिरोका कारण तराईका जिल्लाहरुमा जाडो ह्वात्तै बढेको छ । बिहिबार साँझसम्म घाम लागेको भएपनि शुक्रबार बिहान एक्कासी तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नुको साथ चिसो पनि बढेको हो । हुस्सु लागेसंगै चिसो पनि बढेको र घाम समेत लाग्ने सम्भावना नदेखिएकाले चिसोबाट बँच्ने उपयहरु अपनाउन जल तथा मौषम बिज्ञान बिभाग, मौषम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।
मौषम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानै तराईको हुस्सु÷शितलहर बुलेटिन जारी गरी सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका अधिकांश भुभागमा तथा प्रदेश नं. २ का एकदुई स्थानमा हुस्सु कुहिरो लागेको समेत जानकारी गराएको छ । महाशाखाका अनुसार बिहान पख पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु कुहिरो लागेको थियो । त्यस्तै पूर्वी तराईको एक दुई स्थानमा बाक्लो हुस्सु कुहिरो लगोको र मध्य तराईका एक दुई स्थानमा हल्का हुस्सु कुहिरो लागेको बुलेटिनमा उल्ललेख गरिएको छ ।
बिहान पख लागेको हुस्सु कुहिरो मध्यान्न सम्म क्रमिक सुधार हुँदै जाने सम्भावना समेत औंल्याउँदै महाशाखाले हुस्सु कुहिरो लागेको स्थानमा घाम नलाग्ने भएकोले चिसोबाट बँच्न र यात्रा तथा अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हुस्सु कुहिरोको कारण पारदर्शिता (भिजिविलिटी) पनि कम छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको तापक्रम ८.६ डिग्रि सेल्सियस र पारदर्शिता ८ सय मिटर रहेको छ । त्यस्तै बिराटनगरमा तापक्रम ११ डिग्रि सेल्सियस र पारदर्शिता १ हजार ६ सय मिटर, नेपालगञ्जको तापक्रम ९.४ र पारदर्शिता २ हजार मिटर, भैरहवाको तापक्रम ९ र पारदर्शिता ५ सय मिटर, सिमराको तापक्रम ९.४ र पारदर्शिता ३ हजार मिटर, जनकपुरको तापक्रम १०.२ र पारदर्शिता २ हजार मिटर छ ।