सरकारको संसद विघटनको कदम : प्रधानमन्त्री ओलीप्रति सबत्र आलोचना

1.3K

सरकारको संसद विघटनको कदम : प्रधानमन्त्री ओलीप्रति सबत्र आलोचना

आकस्मिक रुपमा मन्त्रीपरिषद बैठक डाकेर संसद विघटनको सिफारिस गरेपनि प्रधानमन्त्री केपी ओली बिरुद्ध सबत्र आलोचना भएको छ । पार्टीको आन्तिरिक विवादका कारण संसद विघटन गर्ने सिफारिस गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका विपक्षी दलले मात्रै नभएर स्वयम नेकपाका नेताहरुले समेत प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको धारणा बनाउन केही समयमा बैठक बस्ने बताएपनि पार्टीका नेताहरुले उक्त निर्णय असंवैधानिक भएको बताएका छन् । काँग्रेस नेताहरुले बहुमतबाट अर्को प्रधानमन्त्री चुनीने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने जिकिर गरेका छन् । जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले संसद विघटन सिफारिस संविधान विपरित भएकोले सरकारको यो निर्णयको सबैले प्रतिवाद गर्नुपर्ने बताउनु भएको छ ।
सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले समेत संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको बताउँदै लागु हुन नसक्ने बताएका छन् । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै प्रधानमन्त्री ओली संसद र पार्टीमा समेत अल्पमतमा रहेकाले संसद विघटन गर्न नपाउने बताउनु भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि संसद विघटन प्रस्ताव संवैधानिक नभएकोले लागु हुन नसक्ने बताउनु भएको छ ।
यता प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्न नमिल्ने बताउनु भएको छ । आईतबार बिहान आकस्मिक रुपमा मन्त्रीपरिषद बैठक डाकेर प्रधामन्त्री ओलीले संसद विघटनको निर्णय सुनाएलगत्तै प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस बोकेर राष्ट्रपति कार्यालय सितलनिवास पुग्नु भएको छ ।