बुटवल तथा आसपासका उद्योगी व्यबसायीले ढुवानीमा अनलाइन सिष्टम (भि.सी.टि.एस.)मा समस्या भएको बताउँदै त्यसलाई सुधार गर्न सुझाव दिएका छन् । राजश्व अनुसन्धान विभागले सोमबार बुटवलमा आयोजना गरेको ‘राजश्व चुहावट नियन्त्रणमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि उद्योगी व्यबसायीले भिसीटिएसमा व्यबहारिक कठिनाई भएको बताउँदै सुधार गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा विभागका उपमहानिर्देशक नरनाथ गिरी सहित राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत, आन्तरिक राजश्व कार्यालय बुटवल तथा भैरहवाका प्रमुख, भैरहवा भन्सार कार्यालयका प्रमुख र यस क्षेत्रका उद्योगी व्यबसायी तथा व्यबसायिक संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
उद्योगी व्यबसायिका समस्या राख्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले भिसिटिएसमा व्यबहारिक समस्या धेरै भएको बताउँदै त्यसले उद्योगी व्यबसायीलाई धेरै दुःख भएको बताउनु भएको थियो । मुलुकको अर्थतन्त्र सुदृण गर्नको लागि उद्योगी व्यबसायीको भूमिका महत्वपूर्ण हुने भन्दै उद्योगी व्यबसायीलाई दुःख दिने खालका समस्या समाधानको लागि विभागले गम्भिर भएर ध्यान दिन समेत आग्रह गर्नु भयो ।

त्यस्तै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका संयोजक एजाज आलमले भिसिटिएसको लागि विभागले सञ्चालन गरेको सफ्टवेयरमै समस्या देखिएको बताउँदै त्यसलाई तत्काल सुधार गर्नुपर्ने भनाई राख्नुभयो । ‘विना भिसिटिएस ढुवानी गरिए उद्योगी व्यबसायीलाई जरिवाना हुन्छ ।’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘सर्वर डाउनको नाममा घण्टौ गाडी खडा भएको क्षेतीपूर्ति कसेले गर्छ ?’ डण्डा लगाएर मात्रै राजश्व नउठ्ने बताउँदै उहाँले व्यबहारिक पक्षलाई पनि हेर्न आग्रह गर्नुभयो ।
सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले गत साउनदेखि लागु भएको ढुवानीमा अनलाई सिष्टम (भिसिटिएस)को बारेमा उद्योगी व्यबसायीले अझै पनि पूण ज्ञान हासिन गरिनसकेको र त्यसैका कारण उद्योगी व्यबसायीले धेरै दुःख व्यहोर्नु परेको बताउँदै व्यबहारिक पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तैगरी रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले सरकारी र उद्योगी व्यबसायी दुबै पक्षबाट आफ्नो दृष्टिकोण बदल्नुपर्ने बताउँदै दृष्टिकोण बदल्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
भ्याटमा जाँदा ५० लाखको सिमा भएजस्तै भिसिटिएसको लागि पनि एउटा सिमा निर्धार गरेर कार्यान्वयन गर्नुपर्ने कतिपय उद्योगी व्यबसायीले बताएका छन् । त्यस्तै उनीहरुले सिमा पारी सुनौलीको बजारका कारण सिमा वारी (नेपाली) व्यापारी मारमा पारेको बताउँदै उताबाट आउने झोला पोकालाई कडाई गर्न माग गरेका थिए । त्यस्तै भन्सार मुल्यांकनमै त्रुटी भएको र भन्सार मुल्यांकन प्रकृयालाई समेत सुधार गर्नुपर्ने भनाई राखेका थिए ।
उठेका जिज्ञासाको जवाफमा राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक नरनाथ गिरीले ऐनमा पहिले नै व्यबस्था भएपनि गत वर्षको साउनदेखि मात्रै सुरु गरिएको र हालसम्म एक लाख रजिस्टर, १ करोड १० लाख बढी बिल ईन्ट्रि र ३६ खर्व रुपैंया कारोवार प्रविष्ट भएको जानकारी गराउनु भयो । भिसिटिएस ईन्ट्रि गर्ने सर्वरमा बेलाबेला डाउन हुने समस्या देखिएको उल्लेख गर्दै उहाँले त्यस्तो बेलामा केही समस्या भएपनि सुधार गर्दै अंगाडी बढीएको बताउनु भयो । उपमहानिर्देशक गिरीले सबै उद्योगी व्यबसायीले ठिकसंग काम गर्ने हो भने कुनै पनि समस्या नहुने बताउँदै बैध कारोवारमा कुनै समस्या भए समाधानको लागि कार्यालय तयार भएको बताउनु भयो ।

त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुव पाण्डे र भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले कानुनी प्रकृया र दायरामा रहेर व्यापार व्यबसाय गर्न आग्रह गर्दै त्यसरी व्यापार व्यबसाय गर्नेलाई कहिल्यै पनि समस्या नआउने बताउँदै अन्जानमा भएका त्रुटी तथा भु्ल तत्कालै सुधार गर्न समेत सुझाव दिनुभयो ।
त्यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले पहेलो र हरियो मार्गका ढुवानीका गाडीलाई तुरुन्तै जाँचपास भएपनि तत्कालै ननिकालिदिने गरेको बताउनु भयो । त्यस्तै भन्सार देररेट मुल्यांकनमा कारोवार मुल्यलाई मान्यता दिने कानुनी प्रकृया अनुसार नै मान्यता दिईएको बताउनु भयो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत राजन बिसीले भिसिटिएसमा नीतिगत समस्या भएको स्वीकार गर्दै कानुनको कार्यान्वयन गर्ने आफ्नो दायित्व भएको बताउनु भयो । उहाँले नीतिगत समस्या भएपनि गलत काम नगर्ने हो भने समस्या नै नआउने बताउनु भयो । उहाँले भन्नुभयो–अवदेखि भिसिटिएसमा जरिवाना गरिने छैन, तर तपाईहरुले पनि गलत काम गर्नेछैनौं भनी बाचा गर्नुपर्छ ।’ राजश्व चुहावट भएको पाईएमा राजश्व चुहावट ऐन अनुसार २५ हजार देखि १ लाख रुपैंया सम्म जरिवानाको व्यबस्था छ ।
उक्त कार्यक्रममा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्र, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष जेपी कंडेल लगायतले भिसिटिएसका समस्या सहित सुधारको लागि सुझाव राख्नुभएको थियो । कार्यक्रमको राजश्व अनुसन्धान कार्यालय बुटवलका अधिकृत धनिश्वर अर्यालको सञ्चालनमा भएको थियो ।