पाल्पाको माथागढी गाउँपालिका रुप्सेमा गठन भएको कुलचन्द्र–सन्तोस खनाल परोपकार ट्रष्टले पाल्पाको दमकडा नमुना माध्यमिक बिद्यालयमा अध्ययन गर्ने दृष्टिबिहिन बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । उद्योगी व्यबसायी शंकर खनालका भाई सन्तोस खनाल दिवंगत भएको ४५ औं दिनको पुण्य तिथिमा शुक्रबार पाल्पाको दमकडा नमुना माध्यमिक बिद्यालयमा अध्ययन गर्ने दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
समाजसेवी कुलचन्द्र खनालको २०५५ सालमा सिद्धबाबामा दुर्घटनामा परि निधन भएको थियो । उहाँको निधन पछि कुलचन्द्र खनाल परोपकार ट्रष्ट गठन गरिएको थियो । यस्तै गत कात्तिक २६ गते ट्युमरको उपचारको क्रममा स्वर्गीय कुलचन्द्रका छोरा सन्तोसको समेत मृत्यु भएपछि उक्त ट्रष्टको नाम संशोधन गरेर कुलचन्द्र–सन्तोस खनाल परोपकार ट्रष्ट बनाईएको हो ।

विगत १५ वर्षदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको ट्रष्टले स्वर्गीय सन्तोसको ४५ औं पुण्य दिन पारेर त्यस बिद्यालयमा अध्ययन गर्ने ३० जना दृष्टिबिहिन बालबालिकालाई न्यानो कपटा प्रदान गरेको हो ।
ट्रष्टका संरक्षक मित्रलाल खनालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मोहन सापकोटा, समाजसेवी पुरुषोत्तम अर्याल, बिद्यालयका शिक्षक बेदुपति गैरे, ट्रष्टका कार्यकारी निर्देशक शंकर खनाल, सदस्य विजयालक्ष्मी खनाल लगायतले भनाई राख्नुभएको थियो ।