लायन्स क्लव अफ बुटवल युथद्वारा दृष्टिबिहिनलाई खाद्यान्न सहयोग

1.3K

लायन्स क्लव अफ बुटवल युथद्वारा दृष्टिबिहिनलाई खाद्यान्न सहयोग

लायन्स क्लव अफ बुटवल युथले हंगर रिलिफ कार्यक्रम अन्तरगत बुटवल उपमहानगर पालिका वडा नं. १३ बेलवास जवई टोलमा रहेको रुपन्देही दृष्टि बिहिन संरक्षण केन्द्रमा खाद्यान्न प्रदान गरेको छ । क्लवका कोषाध्यक्ष रबिन कार्कीका स्वर्गीय भाईको नाममा सञ्चालन गरिएको नरेस फाउण्डेसनको सहयोगमा खाद्यान्न सहयोग प्रदान गरिएको हो ।
सोलुदुध कुण्ड नगरपालिका वडा नं. ११ तिम्लाका नरेशको नेपाल आर्मीमा तालिम अवधिमै २०६१ साल पुस १३ गते निधन भएको थियो । त्यसयता दाई रबिनले भाईको स्मृतिमा नरेश फाउण्डेसन बनाएर त्यसका माध्यमबाट प्रत्येक वर्ष पुस १३ मा दुःख गरिवको सहयोगमा काम गर्दै आएको छ । त्यस अनुसार यो वर्ष लायन्स क्लवको सहकार्यमा दृष्टिबिहनको सहयोगमा काम गरिएको फाउण्डेनका संरक्षक समेत रहेका दाई रबिनले बताउनु भयो । त्यस्तै लायन्स क्लवले माईक स्पिकर समेत प्रदान गरेको छ ।

२०७३ सालदेखि सञ्चालनमा रहेको रुपन्देही दृष्टिबिहिन संरक्षण केन्द्रमा रुपन्देही, अर्घाखाँची, प्युठान, स्याङ्जा लगायतका जिल्लाका १० जना संरक्षणमा रहेको केन्द्रका अध्यक्ष पदमबहादुर नेपालले जानकारी गराउनु भयो । उहाँका अनुसार केन्द्रले सडक सांगितक कार्यक्रम सञ्चालन गरेर उनीहरुको जिविका चलाउँदै आएको छ ।
त्यस अवसरमा बोल्दै लायन्स क्लवका एरिया चिफ सन्दिप कसौधनले दृष्टिबिहिन संरक्षण केन्द्रको लागि आवश्यक भएको हार्मोनियम डिष्ट्रिक्टबाट व्यबस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थापनाको छोटो समयमा पनि लायन्स क्लव आफ बुटवल युथले धेरै काम गर्न सफल भएको बताउँदै उहाँले समाज उत्थानको लागि लायन्स क्लवले साना साना भए पनि राम्रा राम्रा काम गरेको औंल्याउनु भयो ।

त्यस्तै क्लवका अध्यक्ष कमालुद्धिन मियाले क्लव स्थापना भएको छोटो समय मात्रै भएको सम्पन्न पनि नभएको अवस्थामा क्लवका सदस्यहरुबाट उठाएर सानो सानो भएपनि सहयोग गरिएको बताउनु भयो । उहाँले समाज सेवाका कामलाई निरन्तरता दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । केन्द्रका अध्यक्ष नेपालले धन भन्दा पनि मन ठूलो भएको बताउँदै सहयोगी हातहरुको सहयोग सानो भएपनि आफूहरुको लागि ठूलो हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक अफिसर जाकिर हुसेन, पूर्व अध्यक्ष जमिल खान, सचिव सुरेस केसी लगायतले भनाई राख्नुभएको थियो ।