सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा–२०७७) को टोली शुक्रबार लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल आउने भएको छ । आगामी माघको २ गतेसम्म प्रदेशका बिभिन्न जिल्लाहरुमा तय गरिएका कार्यक्रममा सहभागि हुनको लागि मेची महाकाली यात्राको टोली भोली (शुक्रबार) बुटवल आउन लागेको हो ।
पूर्वपश्चिम मुख्य राजमार्गका आसपासमा कष्टपूर्ण जीवन बिताईरहेका सहयोगापेक्षी मानवहरुको उद्धार, उनीहरुको व्यबस्थापनको लागि जनचेतना अभिबृद्धि, उनीहरुको व्यबस्थापनमा स्थानीय सरकारसंग समन्वय र सहकार्य तथा सडक मानव मुक्त नेपालको आधार निर्माणको लागि १ महिने महाअभियान सञ्चालन गरिएको बिहिबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
सहयोगापेक्षी (बेसहहारा, अशक्त, असहाय, अभिभावकबिहिन) सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (महाअभियान) मा राजमार्ग र आसपासका क्षेत्रमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको उद्धार, सरसफाई, प्राथमिक उपचार, उनीहरुसंगै सहभोज र उनीहरुलाई आश्रममा स्थानान्तरण गराउने र नेपाललाई सडक मानव मुक्त रारष्ट्र घोषणाको आधार तयार गर्नेगरी अन्तरक्रिया कार्यक्रम गर्ने मानव सेवा आश्रम बुटवलका अभिभावक लोकनाथ भुसालले जानकारी गराउनु भयो ।

त्यसको लागि जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनीधिहरुलाई जानकारी गराउनुको साथै सहयोगको प्रतिवद्धता समेत गराईएको उहाँले बताउनु भयो । मानव सेवा आश्रम बुटवलले रुपन्देही जिल्लामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाका कार्यक्रम गर्ने तय गरेको छ । एकसाता सम्म लुम्बिनी प्रदेशमा रहने यात्रा टोलीले रुपन्देही सहित नवलपरासी, कपिलबस्तु, अर्घाखाँची, बाँके र बर्दियामा कार्यक्रम गर्नेछ । यस अवधिमा ३ सय जनालाई उद्धार गर्ने लक्ष्य समेत निर्धारण गरिएको अर्का अभिभावक कृष्णप्रसाद पंगेनीले जानकारी गराउनु भयो ।
यहि पुसको ७ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको थियो । त्यसयता मानज सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको नेतृत्वमा ३० जनाको टोली मेची महाकाली महाअभियानमा रहेको अभिभावक नन्दिकिशोर ढकालले बताउनु भयो । एक महिने यो कार्यक्रमको लागि करिव ६० लाख रुपैंया लागत अनुमान गरिएको त्यसको व्यबस्थापन समेत सहयोगी व्यक्तिहरुबाट भएको बताईएको छ ।
मानव सेवा आश्रमले नेपालका ७ प्रदेशलाई समेट्ने गरी १४ जिल्लामा १९ वटा सेवा केन्द्र सञ्चालन गरेको र त्यसमा हुने खर्चको करिव २० प्रतिशत सरकारले सहयोग गरेपनि बाँकी सहयोगी व्यक्तिहरुको सहयोगबाट नै सञ्चालन भएको भुसाल बताउनु हुन्छ ।