आँगन बचत तथा ऋण सहकारी संस्था बुटवलको ११ औं वार्षिक साधारण सभा तथा अधिवेशनले पुनः यमप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको संस्थाको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि उपाध्यक्ष पदमा सुरेन्द्र अधिकारी, सचिवमा राजेन्द्र घिमिरे, कोषाध्यक्षमा ध्रुवराज अर्याल तथा सदस्यहरुमा विष्णुप्रसाद गौतम, पदम अर्याल, राजिव गौतम, सुरेश ज्ञवाली र नरदेव न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजक पदमा शोभाखर काफ्ले तथा सदस्यहरुमा दिपक अधिकारी र कबिन्द्र नेपाललाई चयन गरिएको छ । कोभिड–१९ महामारीका कारण संस्थाले यहि पुसको २० गतेदेखि प्रतिवेदन उपर छलफल तथा रायसुझाव लिएको थियो भने नयाँ नेतृत्व चयनको लागि उम्मेदवारी समेत आह्वान गरेको थियो ।
साधारण सभामा अध्यक्ष यमप्रसाद तिवारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा समितिले तयार पारेको लेखा प्रतिवेदन सर्वसम्मत पारित भएको छ । ३४९ शेयर सदस्य रहेको संस्थाको साधारण सभाले शेयर सदस्य अभिबृद्धि कार्यक्रम पारित गरेको छ । त्यस्तै नयाँ शेयर सदस्यलाई सहकारी तालिम लगायतका विगतका कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतबाट पारित भएको छ ।