संसद विघटन बिरुद्ध नेकपा प्रचण्ड–माधव समुहद्वारा बुटवलमा शक्ति प्रदर्शनको तयारी

1.3K

संसद विघटन बिरुद्ध नेकपा प्रचण्ड–माधव समुहद्वारा बुटवलमा शक्ति प्रदर्शनको तयारी

प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहिबार बुटवलमा प्रदेश स्तरीय प्रदर्शनको तयारी गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटनलाई स्वीकृत गरेलगत्तै त्यसको बिरोधमा उत्रिएको प्रचण्ड–माधव नेतृत्वको नेकपाले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेश स्तरीय बिरोध प्रदर्शनको तयारी गरेको हो ।
प्रधानमन्त्रीको उक्त कदमलाई प्रतिगमन भन्दै संसद पुनःस्थापनाको माग सहित प्रदर्शनमा उत्रिएको नेकपा प्रचण्ड–माधव समुहले बिहिबार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शनको तयारी गरेको हो । पार्टीका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेगरी तयारी गरिएको बिरोध सभा अगाडी बुटवलको गोलपार्क, राजमार्ग चौराहा र जीतगढीबाट प्रधानमन्त्री ओलीको कदम बिरुद्ध प्रदर्शन गरिने नेकपाका लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी गराउनु भयो ।
बिरोध प्रदर्शन सहितको सभामा पाल्पा, गुल्मीबाट आउनेहरुले गोलपार्कबाट प्रदर्शन गर्नेछन् । त्यस्तै पश्चिम नवलपरासी सहित रुपन्देहीका बिभिन्न स्थानबाट आउनेहरुले राजमार्ग चौराहाबाट प्रदर्शन गर्नेछन् भने रुपन्देहीको पश्चिम, कपिलबस्तु, दाङ्, बाँके बर्दिया, रुकुम, रोल्पा तथा प्युठानबाट आउनेहरुले जितगढीबाट प्रदर्शन गर्ने उहाँले जानकारी गराउनु भएको छ । नेता गैरका अनुसार गोलपार्कबाट हुने प्रदर्शनको नेतृत्व नेताहरु ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नुहुनेछ ।
त्यस्तै राजमार्ग चौराहबाट गरिने प्रदर्शनको नेतृत्व नेताहरु स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसाल, घनश्याम यादव र नायारण जिसी तथा जीतगढीबाट निस्किने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चक्रपाणी खनाल बलदेव, स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख ओनसरी घर्ती र राजु गुरुङ्ले गर्नुहुने बताईएको छ ।