नेपाली काँग्रेसकी नेतृ केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधानको रक्षा र पार्टीको बैधता जोगाउनु काँग्रेसको अहिलेको प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । उहाँले संविधानमा हुँदै नभएको व्यबस्थाको प्रयोग गरेर संसद विघटन गरिएको बताउँदै प्रधानमन्त्री केपि ओलीको असंवैधानिक कदमको कारण संविधान कमजोर बनेको टिप्पणी गर्नुभयो । त्यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निर्धारित मिति फागुनमा सकिएपछि अवको ६ महिना भित्र महाधिवेशन हुन नसके पार्टीका बैद्यता समाप्त हुने भन्दै ६ महिना भित्रै महाधिवेशन गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो ।
पार्टीको महिला विभागले शनिबार बुटवलमा आयोजना गरेको महिला प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउनु भएकी नेतृ संगौलाले रिपोटर्स क्लवमा भएको कार्यक्रममा बोल्दै आफ्नै नेतृत्वमा बनेको संविधानको रक्षा र पार्टीको बैद्यता जोगाउने काममा केन्द्रीय समिति प्रतिवद्ध रहेको समेत बताउनु भयो ।
नेपाली काँग्रेसले संसद विघटन लगत्तै काँग्रेसले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको स्मरण गर्दै उहाँले प्रतिगमन सच्याउनको लागि संसद पुनःस्थापना नै हुनु पर्ने जिकिर गर्नुभयो । त्यसको लागि नेपाली काँग्रेसले पहिलो चरणमा आन्दोलनका कार्यक्रम सम्पन्न गरेको र दोस्रो चरणमा बिरोधका कार्यक्रम घोषणा गरिएको बताउँदै तेस्रो चरणमा सातै प्रदेशमा प्रदेश स्तरीय कार्यक्रम गर्ने जानकारी गराउनु भयो । उहाँले प्रधानमन्त्रीको उक्त कदमलाई सर्बोच्चले सच्याईदिने विश्वास व्यक्त गर्नुभयो ।
संसद विघटन गरेर प्रतिगमनको यात्रामा अंगाडी बढेका प्रधानमन्त्री ओली अधिनायकवाद र सर्वसत्तावाद उन्मुख रहेको बताउँदै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्र, जनता, अदालत, वकिल, पत्रकार सबैको अपमान गरेको समेत आरोप लगाउनु भयो ।